प्रतिनिधिसभाले पायो नयाँ सभामुख, उपसभामुखको निर्वाचन माघ ७ गते 

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित
बिहीबार, माघ ५, २०७९

काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बिहीवार प्रतिनिधिसभाको बहुमतबाट सभामुख छानिएका हुन् ।
बैठक सञ्चालन गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे । बैठकमा २६८ सदस्य उपस्थित थिए । घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमाको पक्षमा १६७ मत तथा  विपक्षमा १०० मत परेको थियो ।  तटस्थ १ मत रहेको छ । 
यसअघि गठबन्धन दलहरूबीच प्रधानमन्त्री माओवादीबाट अनि सभामुख र राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको नेताहरूले बताएका थिए ।
घिमिरेलाई सभामुख बनाउने पूर्वसभामुख सुवास नेम्वाङको प्रस्तावमा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन गरेका थिए । यसअघि गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार अघि सारेको हो ।
कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले समर्थन जनाएका थिए ।
सभामुख निर्वाचित देवराज घिमिरे को हुन् ?
राष्ट्रिय राजनीतिमा धेरै चर्चित नाम नभए पनि घिमिरे पुराना कम्युनिस्ट नेता हुन् । उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन् ।
पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको बैठकमा सभामुखमा प्रस्ताव गर्दै घिमिरेलाई “लामो समय भूमिगतकालदेखि लिएर निरङ्कुशता विरुद्धका आन्दोलनमा खटिएका” नेताको रूपमा परिचय गराए ।
घिमिरे एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

सभामुखको अधिकार कति हुन्छ
प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुखको भूमिका सदनमा मात्रै सीमित छैन ।
संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को पनि सदस्यमा पनि सभामुख रहने व्यवस्था छ ।
सभामुखले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरू नियुक्तिको सिफारिस गर्ने समितिको पनि नेतृत्व गर्छन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा सभामुखले राष्ट्रपतिको काम गर्न सक्ने अधिकार दिएको छ । हरेक प्रतिनिधिसभा बैठकको कार्यसूची बनाउने, संसद्‌मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखलाई भूमिका दिइएको छ । पूर्वसभामुख तारानाथ रानाभाट सभामुखसँग असीमित अधिकार रहने बताउँछन् ।
“सभामुखसँग साँच्चिकै असीमित अधिकार हुन्छ । संसद्‌बाट सरकारलाई निर्देशन दिने अधिकारसँगै जनताका पक्षमा काम गर्ने पनि ठाउँ हुन्छ,” उनले भने ।
यसअघि सभामुख रहेका माओवादीका अग्नि सापकोटामाथि एमालेले निष्कासन गरेका १४ जना सांसदलाई “पदमुक्त हुनबाट जोगाएको” आरोप एमालेले लगाएको थियो । एमालेले सांसदहरू निष्कासन गरेको पत्रबारे सापकोटाले सापकोटाले तत्काल कुनै निर्णय लिएका थिएनन् र निर्वाचन आयोगले माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि त्यसमा “कारबाही गरिरहनुपर्ने अवस्था नरहेको” उल्लेख गरेका थिए । सापकोटाको उक्त निर्णय विवादित बनेको थियो र नेकपा एमालेले सर्वोच्चमा चुनौती दिएको थियो । पूर्वसभामुख रानाभाट सभामुखले आफ्नो भूमिका विवादित बनाउन नहुने बताउँछन् ।
“सभामुखले संविधान र कानुन मात्रै नभएर नैतिकता र इमानदारीको पनि पालना गर्नुपर्छ,” उनले भने । सभामुख सङ्घीय संसद् सचिवालयको व्यवस्थापन समितिको पनि प्रमुख हुन्छन् ।

सभामुखले कस्तो सुविधा पाउँछन्
सभामुखको मासिक पारिश्रमिक ६७,३२० रुपैयाँ तोकिएको छ । त्यसबाहेक प्रतिमहिना थप ३७,००० रुपैयाँ खर्च विभिन्न शीर्षकमा सभामुखले पाउँछन्।
सरकारले सभामुखका लागि लैनचौरमा आवासको व्यवस्था गरेको छ ।प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुख निर्वाचन माघ ७ गतेका लागि तोकिएको छ । सभामुखको निर्वाचन नहुँदासम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपति शम्शेर जबराले बैठकको अध्यक्षता गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार