तेस्रो प्रयासमा सुदूरपश्चिम प्रदेशसभाले पायो सभामुख, माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित

बुधबार, माघ ४, २०७९

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले तेस्रो पटकको निर्वाचनबाट बल्ल सभामुख चयन गरेको छ । प्रदेश सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।
सभामुख चयनका  लागि यसअघि पुस २८ र ३० गते दुई पटक निर्वाचन भए पनि बहुमतका लागि आवश्यक संख्या नपुग्दा सभामुख चयन हुन सकेको थिए । २८ गतेको बैठकमा सभामुखका उम्मेदवारलाई बहुमत सदस्य सङ्ख्या जुट्न नसक्दा प्रस्ताव अस्वीकृत भएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभाको सभामुखमा निर्वाचित हुन २७ जना मत आवश्यक हुन्छ । प्रस्तावको पक्षमा २६ मत मात्रै परेको थियो । उक्त बैठकमा सत्तापक्षकै एक सदस्यको मत बदर भएको थियो भने अर्का एक सदस्य अनुपस्थित रहँदा सभामुखको निर्वाचन सकिएको थिएन । पहिलो निर्वाचनमा नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य पनि अनुपस्थित थिए ।
३० पुसमा बसेको दोस्रो बैठकमा सत्तापक्ष नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तापक्षका सभामुखको उम्मेदवारलाई बहुमत सङ्ख्या पुग्न सकेको थिएन ।
प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
तेस्रो पटक मंगलबार भएको निर्वाचनपछि मात्र प्रदेशसभाले सभामुख निर्वाचित गर्न सकेको हो ।
प्रदेशसभाको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो ।
भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत दिएका थिए । सभामुखका उम्मेदवार मानबहादुर रावलको पक्षमा २० मत आएको थियो । उनलाई कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले मत दिएका थिए ।
सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले भण्डारीको प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए ।
सभामुखमा निर्वाचित भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराइसकेका छन् ।

कर्णाली प्रदेश उपसभामुखको निर्वाचन आज
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन आज हुने जानकारी दिइन् । उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएकी थिइन् ।
त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरेकी छन् ।
मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीयमन्त्री बनाइएको छ ।

गण्डकीका उपसभामुख बीनाकुमारी थापाले ग्रहण गरिन पदभार
गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गरेकी छन् । सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिएकी थापाले मंगलबार पदभार ग्रहण गरेकी हुन् । सोमबार उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
उनी एमालेबाट उम्मेदवार बनेकी थिइन् ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार