प्रदेश सरकारलाई धमाधम विश्वासको मत

कतै लिइसके, कलै लिन बाँकी
बुधबार, माघ ४, २०७९

काठमाडौं । संघीयता कार्यान्वयन पछि भएको दोस्रो आम निर्वाचन पछि गठनभएका प्रदेश सरकारले विस्तारै लय पक्डन थालेका छन् । केन्द्रमा बनेको सत्ता गठबन्धनमा संलग्न दलहरुले प्रदेश सभामा पनि सरकार गठन गरेका छन् । गठबन्धन दलको सरकार भएकाले मन्त्रीहरुको नियुक्तिले पूर्णता नपाइसकेको भएपनि प्रदेश सरकारलाई विश्वासको मत दिने तथा सभामुख उपसभामुख चयन गर्ने कार्य भइरहेको छ । यसै सिलसिलमा मंगलबार बाग्मती प्रदेश सरकारले विश्वासको मत लिएको छ भने मधेश प्रदेश तथा  लुम्बिनी प्रदेशसभाले प्रदेशसभाको नेतृत्वककर्ता चयन गरेका छन् ।

बाग्मतीका मुख्यमन्त्रीलाई विश्वासको मत

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उनले एक सय पाँच मत प्राप्त गरे । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो ।
मंगलबार अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गरेका थिए । मतदानमा एक सय नौ सदस्यले भाग लिएका थिए ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिएका थिए ।

लुम्बिनी प्रदेश सभामुख र उपसभामुखमा निर्विरोध

यता लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो । उनलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा (एमाले)का प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी समर्थक रहेका थिए ।
प्रदेशसभाको बैठकमा सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित भएकी छन् । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताए । उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिने सरकारका प्रवक्ता रहनुभएका मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
मधेस प्रदेशकोसभामुखमा सत्ता पक्षका मण्डल निर्वाचित
मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
प्रदेशसभाको बैठकमा मण्डलले ७४ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको थियो । प्रदेश सभामा एक सय तीन सदस्य उपस्थित थिए । उनी एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार