नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिमले दोस्रो पटक निर्वाचन गर्दा पनि पाएन सभामुख

आइतबार, माघ १, २०७९

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु सभामुख चयन प्रक्रियामा तटस्थ बस्दा सभामुख चयनको लागि दोस्रो पटक भएको मतदानबाट पनि सुदूरपश्चिम प्रदेशसभाले सभामुख पाउन सकेन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखले पाउनु पर्ने ५१ प्रतिशत मत पाएनन् ।
उम्मेदवारद्धय माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन सकेन ।
सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा २२ मत पर्‍यो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाए ।
सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
सभामुख चयनका लागि मतदान हुुनुअघि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफूहरुसँग सत्ता गठबन्धनले गरेको सहमति व्यहारतः कार्यान्वयन नभएकाले तटस्थ बस्ने जानकारी गराएका थिए ।
निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि निर्णयको पक्ष र विपक्षमा बहुमत पुग्न सक्दैन ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार