प्रदेश सभाले कतै चयन गरे सभामुख, कतै निर्वाचन हुँदै

धेरै आकाक्षी हुँदा सहमति कायम गर्न अप्ठ्यारो
शनिबार, पुस ३०, २०७९

काठमाडौं । प्रदेश सभाहरु यति बेला सभामुख चयनमा व्यस्त छन् । प्रदेश १, बागमति प्रदेशले सभामुख चयन गरिसकेका छन् भने बाँकी प्रदेश सभामा  पनि आज मनोनयत तथा निर्वाचन भइरहेका छन् । गठबन्धनभित्रका दलहरूबीच सहमति हुँदा सभामुख पद सोही गठबन्धन भित्रका दलले पाउने निश्चित छ । गठबन्धनबाहिर रहेको नेपाली कांग्रेसले पनि प्रदेश सभामा सभामुखको उम्मेदवार बनाइ रहेको छ ।
केन्द्रदेखि प्रदेशसम्म गठबन्धनले नै सभामुख बाँडीचुँडी लिने विषयमा समझदारी भइसकेको छ। भागबन्डाकै आधारमा प्रदेश–१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादीले सभामुख पाएको छ भने मधेस र कर्णालीमा एमाले र बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख पाएको छ।

प्रदेश– १ मा माओवादीका गौतम चयन
प्रदेश– १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन्। यहाँ सभामुखको लागि उनको मात्र एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
गौतमले बिहीबार नै सभामुखको शपथ लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट ओखलढुङ्गा ‘ख’बाट सांसदमा निर्वाचित भएका थिए ।
उपसभामुखको निर्वाचन भने आजका  लागि तोकिएको छ । प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।
प्रदेशसभाको शनिबार बैठकबाट उनी निर्वाचित भएकी हुन् । दनुवारको पक्षमा ५७ मत खसेको थियो भने विपक्षमा ३३ मत खसको थियो ।
उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।
सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।
मधेस प्रदेशमा आज मनोनयन
मधेस प्रदेशमा शनिबार सभामुख पदका लागि मनोनयन दर्ता गरिएको छ । यहाँ माघ २ गते सभामुख पदको निर्वाचत गर्ने सहमति कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले गरको थियो ।
नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाएको छ । आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको हो । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।
सभामुख चयन नहुँदासम्म प्रदेशसभामा सप्तरी– ४ ‘क’ बाट निर्वाचित गोविन्दबहादुर न्यौपानेले ज्येष्ठ सदस्यको हैसियतमा सभाको अध्यक्षता गर्ने छन्।

बाग्मतीमा राप्रपाका पाठक निर्वाचित
बाग्मतीको सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्यले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सायजुले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रस्ताव र माओवादीका युवराज दुलाल समर्थक रहेको राप्रपाका पाठकको पक्षमा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले मत दिएका थिए ।

गण्डकीमा धिताल र अर्यालको उम्मेदवारी
गण्डकीमा सत्ता गठबन्धनबाट माओवादीले सभामुख र एमालेले उपसभामुख पाउने सहमति भएको छ । गण्डकी प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्थाअनुसार ३ माघभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्नेछ ।

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएकी छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन् । अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेका छन् ।
आजै बस्ने प्रदेशसभाको बैठकले सभामुख छनोट गर्नेछ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो ।
सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिइसकेका छन् । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

लुम्बिनी
लुम्बिनीमा प्रदेश सभामुख र उपसभामुखको चयन प्रक्रिया ३ माघमा हुँदै छ। प्रदेशसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ३ माघमा अर्को बैठकको आह्वान गरेका थिए । त्यसै दिन सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने बताएका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा १० वटा दलको उपस्थिति छ । त्यहाँ एमालेले मुख्यमन्त्री पाएका कारण गठबन्धनमा भएको सहमतिका आधारमा माओवादीले सभामुख पाउनेछ। सभामुखका लागि अहिले प्रदेशका सांसदहरू केन्द्रका नेतासँग लबिइङ गरिरहेका छन्।

कर्णाली

कर्णाली प्रदेशसभाको सभामुख पदका लागि १ माघमा चुनाव हुने भएको छ । २५ गते सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुखको चयन गर्न ज्येष्ठ सदस्य विनोदकुमार शाहले १ माघको समय तोकेका थिए । चुनावअघि ३० पुसमा उम्मेदवारी दर्तादेखि सभामुखको निर्वाचन प्रक्रिया सुरुआत हुनेछ भने १ माघको बिहान ११ बजेदेखि चयन प्रक्रिया सुरु हुनेछ।
कर्णालीमा एमालेले सभामुखमा दाबी गर्नेछ । यहाँ माओवादीले मुख्यमन्त्री पाएकाले भागबन्डा मिलाउँदा सभामुख भने एमालेको भागमा परेको थियो ।

सुदूरपश्चिमले पनि आजै सभामुख छान्दै
सुदूरपश्चिममा शनिबार साँझ सभामुखको चयन प्रक्रिया सुरु हुँदैछ । सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा शनिबार पुनः मतदान गर्ने कार्यक्रम राखिएको थियो । बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरेका थिए । तर, दोस्रो चरणमा भने उनको पक्षमा २६ मत मात्र परेको थियो । दोस्रो चरणको निर्वाचनमा सत्ता गठबन्धनकै १ जना सांसदको मत बदर भएपछि सभामुखको निर्वाचन शनिबारलाई तोकिएको हो । कांग्रेस, नेकपा एस र स्वतन्त्रबाट उम्मेदवार बनेका मानबहादुर रावलले २३ मत पाएका थिए । सुदूरपश्चिममा ५३ जना सांसद छन् । सभामुखमा निर्वाचित हुन २७ जना सांसदको मत आवश्यक रहन्छ।
एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिमको सभामुख माओवादीले पाएको थियो । सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन् । यहाँ सबैभन्दा ठूलो दल रहेको कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन्।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार