ललितपुर महानगरको नमूना बाल नगरसभा सम्पन्न 

नगरसभा सदस्यले नगरप्रमुखलाई भनिन्, ‘महानगरको ग्रामीण क्षेत्र पनि गएर हेर्नुस’
शनिबार, पुस ३०, २०७९

ललितपुर । ललितपुर महानगर वडा नं २२ की समिक्षा शाक्यले नमूना बाल नगरसभाका अध्यक्ष तथा नगरप्रमुख सकिना महर्जनलाई महानगरको चक्रपथबाहिरका वडाहरुमा जान सुझाव दिइन् । महानगरको चक्रपथबाहिरका वडाहरुमा महानगरको ‘कोर एरिया’मा जस्तो विकास नभएको बताउँदै भनिन्,‘कहिलेकाहिं महानगरको ग्रामीण क्षेत्रमा पनि गएर हेर्नुस,महानगर सहर मात्रै होइन् ।’ 
समिक्षा आदश शौल युवक माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन् । 
ललितपुर महानगरले आयोजना गरेको दोस्रो नमूना बाल नगरसभामा शुक्रवार नगरसभा सदस्यको भूमिकामा रहेकी गुञ्जन गिरीले अघिल्लो नगरसभाले गरेका निर्णयहरु कागजमा मात्रै सिमित रहेको बताउँदै यो नगरसभाले गरेका निर्णयहरु कार्यान्वयन गर्न नगरप्रमुख– उपप्रमुखलाई सचेत गराइन् । 
उनले भनिन्, ‘सभाअध्यक्षज्यू सार्वजनिक यातायातमा मानसिक र शारीरिक यातना खेप्नुपर्छ,अझै किशोरीहरु यसबाट धेरै पीडित छन्, सुरक्षा यात्राको व्यवस्था गर्नुपर्‍यो ।’ 
स्मिता अधिकारीले बालबालिका भोलिका कर्णधार भएको बताउँदै सन्तान गर्भमा आएदेखि नै स्वस्थ सन्तान जन्माउनका लागि महिलालाई सचेत बनाउनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘सुत्केरी अवस्थामा महिलामा थुप्रै जोखिम देखापर्छ यसबारे पनि सचेत बनाउनुपर्छ । ’
नमूना बाल नगरसभामा बालबालिकाले सार्वजनिक यातायातमा किशोरकिशोरीले भोग्नुपरेको हिंसा, बालश्रम, विभिन्न विषयमा गरिएका निर्णयहरुका कागजमा मात्रै सिमित भएको विषयलाई जोडतोडका साथ उठाएका थिए । 
इँटाभट्टा काम गर्ने बालश्रमिकदेखि होटेल र कारखानामा काम गर्ने श्रमिकका मुद्दालाई समेत उनीहरुले उठाए । 
नगरसभामा महानगरका २९ वटै वडाका बालबालिका सहभागी भएका थिए  । सहभागी बालबालिकाहरु नै नगरसभाको अध्यक्ष, उपाध्यक्ष र सचिव, नगरसभाका सदस्यहरुको जिम्मेवारीमा रहेका थिए । 
ललितपुर महानगरकी उपप्रमुख मंजली शाक्यले बालबालिकालाई व्यवहारिक ज्ञान दिन नमूना बाल नगरसभा आयोजना गरिएको बताइन् ।

किताबको ज्ञान मात्रै पर्याप्त नहुने बताउँदै प्रयोगात्मक ढंगबाट सिकाइएको कुरा प्रभावकारी हुने उनको धारणा थियो । ललितपुर महानगरलाई बालमैत्री कानुन बनाउन नमूना बाल नगरसभामा उठेका विषयवस्तु महत्वपूर्ण आधार हुने बताउँदै उनले भनिन्,‘बालबालिकामा मुद्दा र आवश्यकतामा केन्द्रित भएर छलफल गर्नुहोस् , जसले महानगरलाई बालमैत्री कानुन निर्माण गर्न , बालबालिकाको आवश्यकता बुझ्न सहयोग गर्छ ।’
सामाजिक विकास समितिका अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले नमूना बाल नगरसभामा बालबालिकाले उठाएका  विषयले ललितपुर महानगरको योजना र कार्यक्रम बालमैत्री बनाउन सहयोग गर्ने बताए । बाल नगरसभामा उठेका विषयलाई महानगरले सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए । 
सामाजिक विकास समितिका सदस्य एवम् वडा नं.१८ का वडा अध्यक्ष दामोदर खड्काले वडा र महानगरका लागि बालअधिकारको सन्दर्भमा यो नमूना बाल नगरसभाले गम्भीर हुन मार्ग प्रशस्त गरेको बताए । उनले भने, ‘हामीले ध्यान नदिएको, वास्ता नगरेको विषयवस्तु कति धेरै रहेछन्, अब यिनलाई महानगरको नीति नियममा समावेश गर्छौ । ’
ललितपुर महानगर समाजकल्याण महाशाखा प्रमुख बाबुराजा महर्जनले बालबालिकालाई जनताको नजिकको सरकार स्थानीय सरकार संचालनको बारेमा जानकारी दिन नमूना बाल नगरसभा आयोजना गरेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार