बागमती प्रदेशमा राप्रपाका नेता भुवन पाठक बने सभामुख

आजै लिए शपथ
शुक्रबार, पुस २९, २०७९

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
प्रदेश सभामा आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । 
उनले ६२ मत प्राप्त गरेका थिए ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैजुले तीन मत प्राप्त गरिन् । एक सय १० सदस्यीय प्रदेश सभाको आजको बैठकमा एक जना अनुपस्थिति थिए । 
२७ सिट जितेको एमाले र २१ सिट जितेको माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गर्दा राप्रपाले यो प्रदेशमा सभामुख पाएको हो ।  नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सृजना सयजु पनि उम्मेदवार थिए ।
प्रदेशसभामा प्रष्ट बहुमत भएको सत्ता गठबन्धनका उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भए । उनको विपक्षमा ४९ मत खसेको छ भने ७ जना तटस्थ बसेका छन् । सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य सभामुखको निर्वाचनमा भने तटस्थ बसेका हुन् ।
प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ गरी १३ सिट जितेको राप्रपा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनमा निर्णायक बनेको छ । केन्द्रमा एमाले–माओवादी गठबन्धनलाई साथ दिएको राप्रपाले प्रदेशको मुख्यमन्त्री नै मागेको थियो ।

कस्तो छ पाठकको राजनीतिक सक्रियता
नवनिर्वाचित सभामुख पाठक काठमाडौँ महानगरपालिका–३० का स्थायी बासिन्दा हुन् । उनले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गरेका छन् । उनले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गरेका थिए । पाठकले २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसैगरी उनले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हालेका छन् । 
सभामुख निर्वाचित भएपछि पाठकले भने, ‘म पूर्ण तटस्थताका साथ आफ्नो भूमिका निर्वाह गर्छु, प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो हो, म कुनै पक्ष विपक्षीमा नलागी राजनीति भन्दा माथि उठेर काम गर्छु ।’
उनले आफू राजनीतिबाट मुक्त भएर काम गर्ने र प्रदेशसभाको गरिमा बढाउने, जनताको पीरमर्का र जनजीविकाको आवाज उठाउने थलोको रुपमा प्रदेशसभालाई अघि बढाउने पनि बताए ।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला उनी शिक्षा सहायक मन्त्री भएपनि भुवन जननिर्वाचित थलोमा पुगेको पहिलो पटक हो । उनलाई राप्रपाले समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य बनाएको थियो ।
बागमती प्रदेशसभा राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये महामन्त्री पाठक नै सबैभन्दा वरिष्ठ थिए । तर उनी संसदीय दलको नेता बन्न सकेनन्, उद्धव थापा सर्वसम्मत नेता चयन भए ।
त्यसपछि उनको सरकारमा जाने बाटो करिब बन्द भयो । तर सत्ता साझेदार दलहरुबीच पद भागवण्डामा बागमतीको सभामुख राप्रपाको भागमा प¥यो र भुवनले अवसर पाए ।
२०३६ सालको जनमत संग्रहका बेला भुवन पञ्चायत समर्थक विद्यार्थी संगठन नेपाल राष्ट्रिय छात्र संगठनको अध्यक्ष थिए । त्यहीँबाट राजनीति अघि बढाएका उनी पछि पञ्चायत समर्थक युवक संगठनको सचिव बने ।
२०४६ सालको जनआन्दोलनपछि पञ्चायत पक्षधरले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेपछि उनी सोही पार्टीको युवा संगठनको अध्यक्ष बने । २०५९ सालमा राप्रपाको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०६४ सालमा कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनीसँगै रहेका पाठकले २०७८ सालको राप्रपा महाधिवेशनमा थापाकै प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिए ।
अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि पाठक भने निर्वाचित भए । थापाले पार्टी छाडेर गए पनि पाठक राजेन्द्र लिङ्देनलाई सहयोग गरेर बने ।
राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभागको प्रमुख भएर काम गरिसकेका उनी अहिले महामन्त्रीसँगै अन्तर्राष्ट्रिय विभागको प्रमुख रहेका छन् ।
कुनै बेलाका फुटबल खेलाडी भुवन पाठकले ज्ञानेश्वर युनाइटेड र मैतीदेवी ११ बाट राष्ट्रिय स्तरका खेलहरु खेले । नेपाल केक्युसिन कराते संघको उपाध्यक्ष, बक्सिङ संघको उपाध्यक्ष, नेपाल आर्चरी संघको अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी आइस हक्की संघको अध्यक्ष छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार