चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी 

स्नातक तहको नतिजा नआएसम्म नेविसंघ स्ववियु चुनावमा नजाने
बिहीबार, पुस २१, २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । 
त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार  “सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्नेगरी हामीले त्रिवि कार्यकारी परिषद्लाई निर्वाचन गर्न सिफारिस गरेका छौँ । अब चाँडै नै त्रिवि कार्यकारी परिषद्को बैठकले हामीले तय गरेको मितिलाई अनुमोदन गर्नेछ ।”
त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने छ । त्रिविमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा यही पुस ११ गते सबै विद्यार्थी सङ्गठनका अध्यक्षसँग छलफल गरेको थियो ।  छलफलमा सबै सङ्गठनले स्ववियु निर्वाचनमा सहमति जनाएकाले मिति तोकी सिफारिस गरिएको हो । त्रिविले यसअघि त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग पनि स्ववियु निर्वाचनका सम्बन्धमा छलफल गरिसकेको छ । 
त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । 

स्नातक तहको नतिजा नआएसम्म नेविसंघ स्ववियु चुनावमा नजाने
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ६ महिना अघि लिएको स्नातक तहको परीक्षा सबै आएपछि मात्रै नेविसंघले स्ववियु चुनावमा भाग लिने जनाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ६ महिना अघि पनिकाले सञ्चालन गरेको स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिने बताए ।
परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे बिए कार्यक्रमको तेस्रो वर्षको, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन । सबै नतिजा नआई भर्ना खुलाएको भन्दै विद्यार्थीहरूले चर्को विरोध गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको छ । तर नेविसंघ अध्यक्ष भने परीक्षा नतिजा नआई निर्वाचन कार्यतालिका सार्वजनिक नगर्न माग गरिरहेको बताउँछन् ।
चैत १४ भित्र गर्दा हुने भएकोले कार्यतालिका सार्वजनिक गर्न हतार गर्न नहुने उनको जिकिर छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार