महान फुटबलर पेलेको अन्तिम विदाईमा उर्लियो प्रशंसकहरूको भिड

महान फुटबलर पेलेको अन्तिम विदाई 
मंगलबार, पुस १९, २०७९

ब्राजिल । ब्राजिलमा पेलेप्रति सम्मान प्रकट गर्न हजारौँ मानिसहरू उनले पहिला खेलेको फुटबल क्लब सान्तोसको मैदानमा भेला भएका छन् । त्यहाँ पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ । पेलेको शवपेटिका साओ पाउलोस्थित उर्बानो काल्देरा रङ्गशालाको बीचमा राखिएको छ । त्यहाँसम्म जान मानिसहरू सडकदेखि नै पङ्क्तिबद्ध भएका छन् । तीन पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । मङ्गलवार उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा निस्किनेछ ।
‘हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रङ्गशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौँ’, श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।

फिफाका अध्यक्षपेलेको निधनपछि ब्रजिल सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको थियो । विश्वकै सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने पेलेलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो । सोमवार बिहान शववाहन रङ्गशालामा आइपुगेसँगै हजारौँ प्रशंसकहरू सडकमा निस्किएका थिए । पेलेलाई श्रद्धाञ्जलि अर्पण गर्न केही मानिस रातिदेखि नै लाइनमा बसेका थिए । शव राखिएको पेटिका बोक्न ब्रजिलका भूतपूर्व खेलाडि जे रोबेर्टो र पेलेका छोरा एडिन्होले सहयोग गरेका थिए भने नेइमार, भिनिसस जुनिअर र रेआल मड्रिड क्लबले पुष्पगुच्छा पठाएका थिए । बिहान ६ बजे उठेर आफ्ना पतिसँग सोरकाबा सहरदेखि यात्रा गरेकी बीएट्रिस दुई घण्टाभन्दा बढी लाइन लागेकी थिइन् । तेह्र वर्षे छोरासहित विल्सन जेनियो पनि सेतो गुलाफको फूल र पेलेले हस्ताक्षर गरेको सान्तोस फुटबल क्लबको झण्डा बोकेर लाइन लागेका थिए । जेनियो र उनका छोराले रातभरि शववाहन पच्छाएका थिए । “हामी उनको पछिपछि आएका हौँ । बिहान साढे तीन बजेदेखि हामी यहाँ छौँ,” उनीहरूले भने ।   “अर्को १,००० वा २,००० वर्षपछि पनि पेलेजस्तो कोही हुने छैन। उनी एक मात्र त्यस्ता हस्ती हुन्” फिफाका अध्यक्षले भने, ‘पूरै सहर रङ्गशालामा उर्लिएको छ ।’

पेलेलाई श्रद्धाञ्जलि दिन गएका प्रशंसकहरू
यहाँ निकै गर्मी छ । तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ । तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिए जस्तो देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

अन्तिम श्रद्धाञ्जलिका लागि पुगेका सर्वसाधारण
ब्राजिलका सबै भाग मात्रै नभएर विश्वभरिबाट मानिसहरू यहाँ आइपुगेका छन् । मैले मेक्सिकोको झण्डा र द नेदरल्यान्ड्सको ‘पिन’ पनि देखेँ । समाचार सङ्कलन गर्न सञ्चारमाध्यमले प्रयोग गरेका हेलिकप्टरहरू उडिरहेका छन् । पेलेको क्लब सान्तोसको कालो र सेतो रङ्गको जर्सी वा ब्रजिलको राष्ट्रिय टोलीको पहेँलो रङ्गको जर्सी लगाएर मानिसहरू निस्किएका छन् । रङ्गशालामा पेलेको स्वर गुन्जिएको छ । सन् २००६ मा उनले गाएको “मीउ लेगादो” अर्थात् मेरो विरासत बोलको गीत दोहोर्‍याएर तेहेर्‍याएर बजाइएको छ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार