खेलाडीको पारिश्रमिकमा कुरा नमिल्दा नेपाल टी–२० लिगका खेल अनिश्चित

मंगलबार, पुस १९, २०७९

काठमाडौं । खेलाडीको पारिश्रमिकमा कुरा नमिलेपछि नेपाल टी–२० लिगका खेल अनिश्चित भएको छ । आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।
नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएको छ ।
नेपाल टी–२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पारिश्रमिक नदिइ आयोजक गायब भएको र धेरै शंकास्पद गतिविधि भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘आफू ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा आजदेखि कुनै संलग्नता नरहने बताएका छन् ।’
खेलाडीलाई टिमका मालिकहरुले र अम्पायर तथा अरु अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक दिनुपर्ने भन्दै उनले भने, ‘ खेलाडी र अफिसियललाई तलब हामीले दिने होइन ।’
विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिक काठमाडौंमै छन् । उनीहरुले आफु खेलाडीको तलब दिन तयार रहेको बताएका छन् । क्यानसँग आजै मिटिङ बसेर समन्वय गर्न आफूहरु तयार रहेको यी दुई टिमका मालिकले बताएका छन् ।
नेपाल टी २० मा मिलेमतोको आरोप, खेलाडीले पैसा नपाउँदा मंगलवार हुन सकेको छैन टस्
क्यानको साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको बताइएको छ । खेलाडी र क्यानबिच छलफल चलिरहेको छ। प्रतियोगिता भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग क्यानले सम्झौता गरेयता नै विवादमा तानिएको थियो। केही टिमलाई छाडेर अधिकांश टोलीले खेलाडीलाई पारिश्रमिक नदिएको बुझिएको छ । लिग २४ डिसेम्बरदेखि सुरु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार