निर्मला हत्या प्रकरण अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

शनिबार, पुस १६, २०७९

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय नयाँ छानबिन समिति गठन भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवी लामिछाने निर्देशनमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।
गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्साल उच्च स्रोतका अनुसार समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन्।
उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएका थिए । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।
१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।
प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो ।
तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार