सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आजदेखि नेपाल पत्रकार महासङ्घको साधारणसभा सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको पनि स्मरण गरेकी छन् । “परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।” प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिएकी छन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरेकी छन् । साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरे । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले बताए । “प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,” महासचिव पोखरलले भने, “यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।” नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको स्मरण गरे । उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उनले जनाए । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले राजनीतिक सङ्कट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको औंल्याए । महासंङ्घका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको आरोप लगाए । साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, सुर्खेतका माया थापाले २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरिन भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो । साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।