तेस्रोपटक आर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

आइतबार, पुस ३, २०७९

काठमाडौं । निर्धारित तथा अतिरिक्त समयमा पनि तीन(तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ ।
पेनाल्टीमा आर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो ।   कतार विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो ।
आर्जेन्टिनाका तर्फबाट खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनेल मेस्सीले प्रथम गोल गरेका थिए ।
त्यसपछि डी मारियोले गरेको दोस्रो गोलसँगै आर्जेन्टिनाले दोस्रो हाफसम्म अग्रता लिएको थियो ।
तर खेलको निर्धारित समय सकिने अवस्था आउनै लागेका बेला फ्रान्सका किलियान एम्बाप्पेले दुई गोल फर्काएपछि खेल बराबरी भएको थियो ।
निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयमा मेस्सीले थप एक गोल गरे भने फ्रान्सका लागि पनि एम्बाप्पेले एक गोल फर्काए ।
आइतवार भएको फाइनल खेलसँगै कतारमा जारी विश्वकप फुटबल पनि सकिएको छ ।
चार वर्षअघि रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई आर्जेन्टिनाले उपाधि दोहोर्‍याउनबाट रोकेको हो ।
सन् २०१८ मा फ्रान्सले क्रोएशियालाई २ का विरुद्ध ४ गोलले हराउँदै जित हासिल गरेको थियो ।
संयोगवश यसपालि आर्जेन्टिनाले अघिल्लो विश्वकपको उपविजेता क्रोएशियालाई सेमिफाइनलमा शून्यविरुद्ध ३ गोलले हराउँदै फाइनल पुगेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार