फिफा विश्वकपको फाइनल आज, अर्जेन्टिना र फ्रान्स कसले मार्ला बाजी ? 

आइतबार, पुस ३, २०७९
Global Ime Bank

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल आज राति हुँदैछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।  फ्रान्स र अर्जेन्टिना यसअघि विश्वकपमा तीनपटक आमने–सामने भइसकेका छन् । 
सन् १९३० र १९७८ को समूह चरणमा अर्जेन्टिना विजयी भएको थियो । २०१८ को अन्तिम–१६ मा फ्रान्स ४–३ ले विजयी भएको थियो ।
अर्जेन्टिनाले छैटौँपटक विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ । अर्जेन्टिनाभन्दा जर्मनीले मात्र धेरैपटक फाइनल खेलेको छ । जर्मनीले  आठपटक फाइनल खेलेको छ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो । १९३०, १९९० र २०१४ मा हारेको थियो ।
२०१० मा स्पेनजस्तै योपटक अर्जेन्टिना पनि प्रतियोगितामा आफ्नो पहिलो खेल हारेर पनि विश्वकपको ट्रफी उचाल्ने टिम बन्न सक्छ । विजयी भए अर्जेन्टिना यसरी जित्ने विश्वकप इतिहासमा दोस्रो टिम बन्नेछ । 
मेसी सन् १९३० मा गुइलेर्मो स्टेबिल र १९७८ मा मारियो केम्पेसपछि विश्वकपमा गोल्डेन बुट जित्ने तेस्रो अर्जेन्टिनी खेलाडी बन्न सक्छन् ।
फ्रान्स सन् १९९८ यता चौथोपटक विश्वकपको फाइनलमा पुगेको छ । यो यस अवधिमा अरू राष्ट्रको तुलनामा दोब्बर हो ।
फ्रान्स इटाली ९१९३४ र १९३८० र ब्राजिल ९१९५८ र १९६२० पछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्न सक्छ ।
राति ८ः४५ बजे कतारको लुसेल रंगशालामा सुरु हुने अर्जेन्टिना र फ्रान्सबीचको खेलले गर्नेछ ।
३५ वर्षीय मेसीले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’अर अवार्ड कीर्तिमानी सातपटक जितिसकेका छन् । तर, अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो विश्वकपको उपाधि अहिलेसम्म जित्न सकेका छैनन् ।
फ्रान्सले सन् १९९८ मा पहिलोपटक विश्वकपको उपाधि जित्दा टिमको कप्तानी गरेका डिडियर डेसच्याम्प्स अहिले प्रशिक्षक हुन् । प्रशिक्षककै रूपमा पनि उनले रुसमा सम्पन्न २०१८ को विश्वकपमा उपाधि उचालिसकेका छन् ।
प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेका दुई खेलाडी मेसी र एमबाप्पे फाइनलमा आमने–सामने हुँदै छन् । दुवै गोल्डेन बुटका दाबेदार हुन् । मेसी र एमबाप्पे दुवैले कतारमा समान पाँच गोल गरेका छन् । फ्रान्सका स्ट्राइकर ओलिभर जिरौड र अर्जेन्टिनाका युवा स्ट्राइक युलियन अल्भारेजले समान चार गोल गरेका छन् ।
ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा पनि मेसीले अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्‍याएका थिए । यद्यपि, जर्मनीका मारियो गोट्जेले थप ३० मिनेट समयमा गरेको एक मात्र गोलले अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो ।
पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्ड मेसी फेरि एकपटक कतारमा अर्जेन्टिनाको उपाधि अभियानमा प्रमुख शक्ति बनेका छन् । मेसीले पहिलो गोल पेनाल्टीमा गरेका थिए । उक्त खेलमा अर्जेन्टिना एसियाली मुलुक साउदी अरबसँग २–१ ले स्तब्ध बनेको थियो । त्यो हारसँगै अर्जेन्टिनाको अगाडिको यात्रालाई लिएर थुप्रै अड्कलबाजी गरिएको थियो ।
तर, दोस्रो खेलमा मेक्सिको र तेस्रो खेलमा पोल्यान्डलाई समान २–० ले हराएपछि अर्जेन्टिनासमूह ‘सी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाउन सफल भयो । मेसी पोल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए । मेक्सिकोविरुद्ध गोल गरेका थिए । अन्तिम–१६ मा अष्ट्रेलियालाई २–१ ले हराउँदा पनि मेसीले गोल गरेका थिए ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध ८२ मिनेटसम्म २–० को अग्रता लिन सफल भएको थियो । तर, वोउट वेघोस्र्टले ८३औँ र इन्ज्युरी समयमा गोल गरेपछि खेल थप समयमा धकेलिएको थियो । खेल अन्ततः पेनाल्टी सुटआउटसम्म पुग्यो । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले दुई पेनाल्टी प्रहार बचाए । त्योसँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
सेमिफाइनलमा मेसीले एक तथा अल्भारेजले दुई गोल गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
आफैँले आयोजना गरेको सन् १९७८ को संस्करण र मेक्सिकोमा सम्पन्न १९८६ को संस्करणमा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । अर्जेन्टिना आइतबार तेस्रो उपाधिको खोजीमा हुनेछ ।
फ्रान्सको फाइनल तयारी 
२३ वर्षीय एमबाप्पे आज दोस्रोपटक विश्वकप उपाधि जित्नेमा लक्ष्यमा हुनेछन् । कतारमा पनि फ्रान्सलाई फाइनलसम्म पुर्‍याउन एमबाप्पेले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
समूह चरणको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध ४–१ को जित निकाल्दा एमबाप्पेले एक गोल गरेका थिए । दोस्रो खेलमा डेनमार्कमाथि २–१ को विजय हासिल गर्दा फ्रान्सबाट दुवै गोल एमबाप्पेले गरेका थिए । फ्रान्स एक खेल बाँकी हुँदै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको थियो ।
समूह ‘डी’को अन्तिम खेलमा प्रशिक्षक डेसच्याम्प्सले आफ्ना प्रमुख खेलाडीहरूलाई आराम दिए । अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्यो । अन्तिम–१६ मा पोल्यान्डमाथि ३–१ को नतिजा निकाल्दा एमबाप्पेले दुई गोल गरेका थिए ।
क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । ओरेलियन चाउमेनीको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । ओलिभर जिरौडको गोलबाट फ्रान्सले पुनः अग्रता लियो । केनले दोस्रोपटक पाएको पेनाल्टी अवसरमा गोल गर्न चुक्दा फ्रान्स सेमिफाइनलमा स्थान बनाउन सफल भयो । सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनाविरुद्धको भेट पक्का गरेको हो ।
सन् १९९८ र २०१८ मा उपाधि जित्न सफल फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो । फ्रान्स पछिल्ला सात प्रतियोगितामा चौथोपटक फाइनलमा पुगेको छ ।
तर, तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको फ्रान्सको तयारीमा बाधा उत्पन्न भएको थियो । फ्रान्सका केही खेलाडी बिरामी भएका छन् । मिडफिल्डर एड्रियन राबियोट, रक्षक डेयोट उपमेकानो र विंगर किङ्स्ले कोमानलगायत खेलाडी बिरामी भएका हुन् ।

क्रोएसिया तेस्रो

यसअघि शनिबार राति तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।
क्रोएसियाले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौँ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
खेलको ४२औँ मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार