सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक भएसँगै सरकार कसको नेतृत्वमा गठन हुने हो भन्ने चर्चा सुरु भएको छ । यसै सिलसिलमा नेकपा माओवादी केन्द्रले आप्नो नेतृत्वमा मिलिजुली सरकार गठन हुनु पर्ने तर्क गरेको छ । चुनावी सरकार काँग्रेस नेतृत्वमा रहेकाले नयाँ सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने माओवादीको तर्क छ । माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी जनमत आएको भन्दै पहिलो चरणको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङले अब प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै बन्नुपर्ने भन्दै भन्दै अभिव्यक्ति दिएका छन् । संवाद डबलीमा आज आयोजित कार्यक्रममा उनले बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका प्रचण्ड प्रधानमन्त्रीका दाबेदार भएको संकेत गरे । “बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्ता यो परिवर्तनको संवाहक हुन् । मुलुकको अभिभाभव हो । गिरिजाप्रसाद कोइराला यतिबेला हुनुहुन्न । प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ । यो अवस्थामा मुलुकको अभिभावको रुपमा रहेको, यो व्यवस्थाको प्रस्तावकको रुपमा रहेको, मुलुकको व्यवस्थाको संरक्षकको रुपमा रहेको नेतृत्व अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ ।” उनले मुलुकमा संकट पैदा भएका बेला मुलुकका अभिभावक अघि बढ्नुपर्ने बताए । च्यालेन्ज फेस गर्न माओवादी, चिन्तन, दृष्टिकोण हुनुपर्ने उनको भनाइ छ । “मुलुकमा संकट पैदा भएको छ । नर्मली रुपले पनि संकट अबको च्यालेन्ज फेस गर्न माओवादी, चिन्तन, दृष्टिकोणबाट अघि बढ्नुपर्छ,” गुरुङले भने, “संसद् त्रिशंकुको अवस्था छ । त्यसले सम्झौता, सहमतिको बाटो खोज्छ । सहमति र सम्झौताको बाटो खोज्न माओवादी तयार छ ।” उनले सहमतिका लागि एजेन्डा, विचार, लाइनको आधारमा कुन दल र नेता तयार हुनुभन्ने कुारामा निर्भर हुने पनि बताए । गुरुङले यो निर्वाचनबाट जन्मिएका नयाँ दलहरुको भिजन, दृष्ट्रिकोण त निर्धारण भइसकेको बताए । “यो निर्वाचनबाट नयाँ संकेत देखा परेको छ । यो सिस्टमलाई स्थिापति गराउने हो कि विस्थापन गरेर अस्थिरता र अराजकताको दिशा हो त्यो देखिन्छ,” उनले भने । समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गर्नुभयो । निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको भनाइ छ । “पहिला निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र दिएपछि हामी दलको नेता चयन गर्छौं”, उनले भने, “दलको नेता चयनलाई लिएर हाम्रो पार्टीभित्र कुनै विमति छैन ।” गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन् ।