महोत्तरीमा झडप‚ प्रहरीद्वारा ५ राउन्ड अश्रुग्याँस प्रहार

बिहीबार, मंसिर २९, २०७९

महोत्तरी । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको थियो । प्रहरीले नेहा चौधरी, निहारिका राजपुतसहित ३ जनालाई पक्राउ गरेको छ ।
घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा.पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
आन्दोलनकारीको ढुङ्गामुढाबाट नगरपालिकाका कर्मचारीसमेत घाइते भएको सूचना आएको भए पनि आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ । पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको आन्दोलनमा सहभागीले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार