सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ। उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध उक्त युरोपेली देशले २–० को जित हासिल गरेको हो । उसका लागि थिओ हर्नान्डेज र रन्डाल कोलो मुआनीले गोल गरेका थिए । मोरक्कोले लगातार विश्वकपको ट्रफी दोहोर्याउने गरी अगाडि बढेको फ्रान्सलाई रोक्नका लागि आक्रामक खेल प्रदर्शन गरेको थियो । खेल समाप्त भएको जनाउ दिने सीटी बजाइँदा त्यहाँ उपस्थित दर्शकहरूले मोरक्कोका खेलाडी र प्रशिक्षकहरूका लागि लामो सम्मान दर्शाएका थिए । दुर्लभ अवसर आइतवार लुसैल रङ्गशालामा आर्जेन्टिनासँग फाइनल खेल्ने फ्रान्स ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्याउने पहिलो राष्ट्र बन्न सक्छ । यसअघि सन् १९५८ र सन् १९६२ को विश्वकप लगातार ब्रजिलले जितेको थियो । बुधवार हरेक पटक बल आफ्नो नियन्त्रणमा राख्दा मोरक्को समर्थकहरूबाट आएका लगातारका हुटिङबीच फ्रान्सले निकै सङ्गठित प्रदर्शन गर्दै कतारमा जारी विश्वकप टुङ्ग्याउने अर्को फुटबल शक्तिसँगको आफ्नो फाइनल खेल सुनिश्चित गरेको हो । एम्बाप्पेविरूद्ध मेस्सीको रूपमा हेरिएको आमधारणा आइतवारको खेलमा उत्कर्षमा पुग्नेछ जतिखेर फ्रान्सले सन् २०१८ को मस्को विश्वकपमा क्रोएशियालाई फाइनलमा हराएझैँ इतिहास दोहोर्याउन खोज्नेछ । फ्रान्सका दिदिए देशाँ क्याप्टेन रहेको टोलीले सन् १९९८ मा आफ्नै देशमा आयोजित विश्वकपमा उपाधि उचालेको थियो । कोचका रूपमा उनै ५४ वर्षीय देशाँले यतिखेर दुईवटा विश्वकप जिताउँदै इतिहास रच्ने अवसर पाएका छन् ।–बिबिसी