सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिक्षित देश अर्जेन्टिना फिफा विश्वकपको फाइनल प्रवेश गरेको छ । विश्वकै उत्कृष्ठ खेलाडी लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना विश्वकपको फाइनल चरणमा प्रवेश गरेसँगै नेपाली समर्थक खुसी भएका छन् । लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराउँदै छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेजलाई ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनाएको थियो। पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै गोल गरे । दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो । मेस्सीका लागि सन् २०१४ मा ब्राजिलको प्रतिष्ठित मराकाना रंगशालामा जर्मनीसँग फाइनलमा भोगेको निराशालाई यस पटक खुसीमा परिणत गर्ने अवसर प्राप्त भएको छ ।