त्रुटि सच्याएर एमालेले सामानुपातिक सांसदको नाम सिफारिस गर्‍यो       

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । नेकपा एमालेले त्रुटि सच्याएर सामानुपातिक सांसदको नाम सिफारिस गरेको छ । नाम सच्याउन एमालेलेलाई निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएको थियो । सो समयमा एमालेले नाम सच्याएर बुझाएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताएका छन् ।    १ नम्बर प्रदेश र मधेस प्रदेशमा एमालेले क्लटर र क्रम मिचेर नाम सिफारिस गरेको थियो । एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम नम्बर २ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको थियो । अहिले एमालेले माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गरेर बुझाएको छ ।  त्यसैगरी, मधेस प्रदेशमा अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको थियो । यसलाई पनि एमालेले सच्याएर पेस गरेको छ ।   मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको थियो । सच्याएर पहिलो क्रमकै नाम एमालेले सिफारिस गरेको छ ।    

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार