सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् । रियादमा बिहीबार राति सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२(० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् ।विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो । सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् । प्रतियोगितामा नेपालका २ खेलाडीले सहभागिता जनाएका थिए । सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धनले सहभागिता जनाएका थिए । पलेशा भने क्वाटरफाइनलबाट बाहिरिएकी छिन् । नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० औं र सिर्जना १४ औं स्थानमा छन् । यस स्वर्णसँगै अब सिर्जनाको वरीयतामा सुधार हुनेछ । विश्व वरीयताको शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान रहेको छ ।