निर्वाचन आयोगले मङ्सिर २६ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने 

समानुपातिकतर्फको सिट बाँडफाँट हुँदै
बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ।
आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ । 
मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्याङ्कसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन् । सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखतरूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालेसबै परिणामको विवरण टुङ्गो लगाउन निर्र्देशन दिएका छन् । 
आयोगबाट निर्णयलगत्तै बुधबार सम्बन्धित दललाई पत्र पठाइनेछ । प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ । उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत सङ्ख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन् ।
आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।
समानुपातिकसहित कांग्रेसले ८९ र एमालेले ७८ सीट पुर्याए

मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक पद्धतितर्फको मतगणना सकिएको छ । दुबै प्रणालीको मतगणना सकिँदा नेपाली कांग्रेस ८९ सीटसहित पहिलो र नेकपा एमाले ७८ सीटसहित दोस्रो दल भएका छन् ।
निर्वाचन आयोगका अनुसार सबै जिल्लाबाट मतगणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने देखिए पनि मोटामोटी खाका आइसकेको छ । यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको अयोगको भनाइ छ ।

आयागका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ । माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ९जसपा० को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४।९२६३ प्रतिशत मत पाएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । ७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार