सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएका दुई खेलबाट ब्राजिल र क्रोएसियाले क्वाटरफाइनलको बाटो तय गरेका हुन् । दक्षिण कोरियामाथि ४(१ गोलअन्तरको जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो ।
खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसको केहि समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
२९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गर्दा कप्तान थियागो शिल्भाले पास उपलब्ध गराएका थिए । ४-३-३ फर्मेसनमा टिम उतारेको ब्राजिली प्रशिक्षक टिटेले अग्रपंक्तिमा नेइमार, भिनिसियस र रिचार्लिसनलाई जिम्मेबारी दिएका थिए । खेलमा यी तीनको तालमेल पनि बेजोड देखिएको थियो । ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै फराकिलो अग्रता बनायो । दोस्रो हाफमा कोरिया केहि संहालियो । ब्राजिललाई थप गोल गर्न दिएन भने एक गोल पनि फर्कायो । कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो । कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका हुन् । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ ।
३ पेनाल्टी रोकेपछि जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा
गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।
लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए । क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार भने पोष्टमा लागेको थियो । जापान विरुद्ध पेनाल्टीमा जितपछि क्रोएसियाले विश्वकपमा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ । २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियाले अतिरिक्त समयमा पुगेको तीनमध्ये दुई खेल पेनाल्टीमार्फत जितेको थियो ।
समूह चरणमा पूर्व विजेता जर्मनी र स्पेनलाई हराउँदै सनसनी मच्चाएको जापाले अन्तिम १६ को खेलमा पनि पहिले गोल गर्दै क्रोएसियाविरुद्ध अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न नसक्दा बराबरी गोल बेहोर्यो । ४४औं मिनेटमा दाइजेन माएदाले रित्सु दोअनको क्रसमा प्राप्त बलमा सिक्स यार्ड बक्सबाट गोल गरे । पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजान लोभरेनको पासमा गोल गरे । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । दुवै टिमका गोलकिपरले केही राम्रा बचाउ पनि गरे । क्रोएसियाले अब ब्राजिल र दक्षिण कोरियाबीच आजै मध्यरातमा हुने खेलको विजेतासँग खेल्नेछ ।