निकटतम प्रतिस्पर्धी भई पराजित  महिला उम्मेदवार

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजानिक भइसकेको  छ । ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेमा नेकपा (एमाले)बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुली कुमारी महतो र  सुनसरी–३ बाट  भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई छन् । 

यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा ,कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकबाट काठमाडौँ–२ बाट सोबिता गौतम निर्वाचित भएकी छन् । 
प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् ।  निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिममा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् ।  पराजित हुने अधिकांश पूर्वसासंद महिला छन् । 

प्रदेश १

मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित भइन् । उनले ३१ हजार नौ सय ४० मत प्राप्त गरे । 
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बनिन् । मतगणनाका क्रममा केही समय अग्रता लिएका तामाङले अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित भइन् । उनले१६ हजार छ सय छ मत ल्याइन् । 
एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित भइन् । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित भएकी हुन् । 

मधेश प्रदेश 

सिरहा  २ मा  जसपाका राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित भइन् । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् । 

कर्णाली प्रदेश 

जुम्ला १ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बनिन् । उनले ११ हजार नौ सय ५९ मत प्राप्त गरेकी थिइन भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गरेका थिए । 

लुम्बिनी प्रदेश 

दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम् प्रतिस्पर्धी बनिन् ।शान्ताले मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित भइन् । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गरेकी थिइन् ।  दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बने । गिरीले ३६ हजार नौ सय ११ मतसहित निर्वाचित भइन् । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित भइन् । 

प्यूठान –१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीको निकटतम प्रतिस्पर्धी बनिन् । ४१ हजार एक सय १८ मतले निर्वाचित भएका थापासँग पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित भइन् । पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरिन् । 
अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरेकी थिइन् । 
गुल्मी –२ मा नेकपा एसकी रामकुमारी झाँक्री एमालेका गोकर्णराज बिष्टसँग दुई हजार ३५ मतान्तरले पराजित भइन् । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरिन् । 

गण्डकी प्रदेश 
बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भइन् । शर्माले २० हजार एक सय ९३ मत प्राप्त गरी   पौडेलको निकटतम प्रतिस्पर्धी बनिन् । 
    
बागमती प्रदेश 

मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) भइन् । उनले दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित भइन् । 

 सुदूरपश्चिम प्रदेश 

कञ्चनपुर–१ मा  एमालेका तारा लामा तामाङ निर्वाचित भइन् । उनको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर थिइन् । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित भइन् । मगरले १९ हजार चार सय मत प्राप्त गरिन् । 
कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग  एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भइन् । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, नेकपा (एस)का प्रेमबहादुर आलेसँग चार हजार दुई सय ६ मतान्तरले पराजित भइन् । 

‘आन्तरिक सङ्गठनहरू बलियो भएन’

एमालेकी गौरीकुमारी ओली भन्छिन्, “मैले जति मत पाएकी छु त्यो जनताले स्वस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।”  सोही पार्टी एमालेकी कमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउँछिन् । 
पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेकी पाल भन्छिन्, “मेरो हारको मुख्य चुनौती गठबन्धन बन्योे ।” 
गठबन्धनकातर्फबाट कांग्रेसकी पराजित  कोइराला भन्छिन, “गठबन्धनभित्रबाटै सहयोग भएन, आन्तरिक सङ्गठनहरू बलियो भएन । मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन ।”  
सोही पार्टीकी यादवले भनिन् “गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आङ्कलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरे ।  अन्तिममा भित्रबाटै धोका भयो ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका तामाङ निर्वाचनमा पहिलोपटक उम्मेदवार हुँदा जनताले विश्वास गरेर आफूलाई दिएको  मत महत्वपूर्ण रहेको बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार