अर्जेन्टिना र फ्रान्स विजयी

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको शनिबार भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । 
समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 
शनिबारको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

फ्रान्स बिजयी
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । 
दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । 
फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १–१ गोलको बराबरीमा ल्याए । 
खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १–१ अंक छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार