चर्चामा सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने डा. तोसिमा कार्की

बिहीबार, मंसिर ८, २०७९

पाटन । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छन् । उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेकाे निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी छन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन । घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले चिकित्सक (जनरल सर्जन) हुन् । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा. तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा. तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन् । 

मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गरेकी छन् । काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङलगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरी सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय थिइन् ।

निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन् । उनले भनिन्  “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।” 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार