कोरोना संक्रमण रोकथाममा केन्द्रित हुँदै स्थानिय तह

शनिबार, वैशाख १८, २०७८

भजनी । कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएपछि कैलालीका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीको काम पनि अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रित भएका  ती  अन्य कामलाई थाती राखेर सङ्क्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई  अहिले धमाधम अगाडि बढाउन थालेका छन् ।  संक्रमणको दर बढेको भएपनी सुरुवाती अवस्थामा त्यस तर्फ केन्द्रित हुन नसकेका स्थानिय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको भन्दै तयारी सुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले बताए । उनले भजनी नगरपालिकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको बताउदै आकस्मिक रुपमा ५ शय्याको अक्सिजन जडित आइसोलेशन तयार भएको बताउदै १५ शय्याको आइसोलेशन वार्डको लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताए । ‘हामी नगरवासीको स्वास्थ्य प्रती धेरै संबेदनसिल छौ । चाहिने आवश्यक साधनस्रोतको ब्यबस्थापनको कामलाई समेत अगाडि बढाइसकेका   छौं’, स्वास्थ्य शाखा प्रमुख बिकले भने, ‘अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाईसकेका छौ । क्यारेन्टिन निर्माण गरेका छौ ।’ भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भराउनको लागि पठाइएको स्वास्थ्य शाखा प्रमुख बिकले बताए । नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा भने कोरोना संक्रमण नियन्त्रण तथा ब्यबस्थापनका लागि बजेट बिनियोजन हुन सकेको छैन । टीकापुर नगरपालिकाले कोरोना संक्रमितको ब्यबस्थापनका लागि सर्वदलीय छलफल मार्फत आवश्यक जनशक्ति र पुर्बाधारको कामलाई अगाडि बढाएको छ । नगरपालिकाले टीकापुर अस्पतालमा १५ शय्याको अक्सिजन जडित आइसोलेशनलाई संचालनमा ल्याएको छ भने सीटी हलमा ३८ शय्याको ब्यबस्थित आसोलेशन वार्डको रुपमा बिस्तारको काम अगाडि बढाएको छ । नगरपालिकामा रहेका सार्बजनिक भवन योगाश्रम, संन्तनिरंकारी भवन, जेसिज भवनलाई तयारी अबस्थामा राखेको नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बताए । ‘पहिलो चरणमा २० सिलिन्डर अक्सिजन आपूर्ति गरि टीकापुर अस्पताललाई हस्तान्तरण गरिसकेका छौ । थप सिलिन्डर माग गरिसकेका छौं’,  नगर प्रमुख रावलले भने, ‘थप जनशक्ति ब्यबस्थापन र  आवश्यकताको आधारमा पुर्बतयारीको काममा नगरपालिका जुटेको छ ।’  नगरपालिकाले ५० लाखको कोरोना लक्षित कोषसमेत बनाएको छ । नगर प्रमुख रावलका अनुसार पुजिगत आयोजना जुन चालू आर्थिक बर्षमा सम्पन्न गर्न नसकिनेलाई कटौती गरि उक्त बजेट कोरोना कोषमा जम्मा गरिने भएको छ । अहिले नगरपालिकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछी स्थिति झन जटिल बन्न सक्ने भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन । नगरपालिकामा केही दिन यता दैनिक रुपमा कोरोनाबाट संक्रमितको मृत्यु हुन थालेको छ ।
जानकी गाउँपालुकाले पनि कोरोना संक्रमितको उपचार तथा अन्य ब्यबस्थापनको कामलाई अगाडि बढाएको छ । गाउँपालिकाले यसअघि संचालनमा ल्याएको ३० शय्याका आइसोलेशन वार्डलाई अक्सिजन जडित बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार  चौधरीले जानकारी दिए । ‘अक्सिजन खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौ । छोटो अवधिमा स्थिति काम गर्नुपर्दा समस्या भने धेरै देखिएको छ’ गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘लक्षण सहितका बिरामीलाई गाउँपालिकाले बनाएको आइसोलेशनमा राख्छौ । जटिल खालका बिरामीलाई टीकापुर अस्पतालमा उपचारका लागि समन्वय भएको छ ।’  उनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणकागी पहिलो चरणमा ३० लाख रुपैया बजेट छुट्याइएको बताउदै आवश्यक जनशक्ति थप्नेमा समेत गाउँपालिकामा छलफल भइरहेको बताए ।  लम्कीचुहा नगरपालिकाले पनि तयारीको कामलाई तीब्र रुपमा अगाडि बढाएको छ । नगरपालिकाले ५० शय्याको आइसोलेशन वार्ड तयार गर्नुको साथै चिकित्सकलाई समेत जिम्मेवार बाडफाड गरि काम भइरहेको नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताए । उनले नगरपालिकाले गर्नुपर्ने कामहरुलाई अगाडि बढाइएको बताउदै आइसियु नहुदा समस्या भएको      बताए । ‘हामिसंग आइसियु सहितको अस्पताल छैन । त्यस्तो जटिल समस्या देखिएका बिरामिहरुलाई धनगढी, नेपालगन्ज पठाउनुपर्ने बाध्यता जस्ताको तस्तै छ’, नगर प्रमुख बजगाइले भने, ‘अन्य कुरामा नगरपालिकाले सबै तयारी गरिसकेको छ । साधनस्रोतले भ्याउन सकिने सबै तयारी हामिले गरिसकेका छौ । हामी हाम्रा नागरिक प्रती गम्भीर छौ ।’ कैलालीका अन्य स्थानीय तहले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएका छन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारको समन्वय फितलो रहेको स्थानीय तहका प्रमुखहरुको गुनासो रहेको छ । संघीय सरकारले नितिनिर्देशन दिने गरेको भएपनि प्रदेश सरकारको काम र समन्वयमा ढिलाई भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार