कञ्चनपुरका सुकुम्वासी भन्छन्, ‘लालपुर्जा आएपछि मत’    

मंगलबार, कात्तिक २९, २०७९

बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वीरबहादुर ठगुन्नाले चारपटक मतदान गरिसकेका  छन्  । उनको पाँच कट्ठा ऐलानी जमीन छ । जग्गाधनी प्रमाण पुर्जा पाउने आशाले मतदान गर्दैआए पनि अहिलेसम्म ठगुन्नाको हातमा लालपुर्जा परेको छैन । त्यसैले उनी यसपटक चुनावमा मत खसाल्ने मनस्थितिमा  छैनन्  । वर्षौंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको ठगुन्नाले  बताए  । 

“चुनावको बेला नेताहरु जमिन दिन्छौँ, लालपुर्जा दिन्छौँ भन्छन्,” “तर हाम्रो व्यवस्था कहिल्यै हुँदैन, चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन् । चुनावमा आफूहरुलाई नेताले मतका लागि मात्रै आश्वासन दिन गरेका छन् ।” उनी   भन्छन् , “यसपटक पनि नेताहरु आएर आश्वासन दिइरहेका छन्, तर अहिलेसम्म केही व्यवस्था नभएकाले यसपटक मत खसाल्ने मन नै छैन ।”   
भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीकी लक्ष्मी डगौंराले हरेक चुनावमा जमिन पाउने आशाले मतदान गर्ने गरेको सुनाछन्  । “जमिन दिन्छौँ भनेपछि तीन पटकसम्म मतदान गरे  तर चुनावमा मत माग्ने बेला मात्रै नेताहरूलाई हाम्रो समस्या थाहा हुन्छ, जितेर गएपछि समस्या कसैले सुन्दैनन्”, उनी  भन्छन् , “वर्षौंदेखि हाम्रो समस्या ज्यूँका त्यूँ छ ।”  

बेदकोट नगरपालिका–१ का राजु धामीले विसं २०६८ सालदेखि हात्तीथलामा ऐलानी जमिन भोगचलन गरिरहेको  छ । ऐलानी जमिनको लालपुर्जा पाउन उनले पटकपटक बनेका आयोगमा निवेदन दिए  । “कमाई खाने जमिनको मालिक बन्ने धेरै ठूलो आशा थियो, तर हाम्रो आशा कहिल्यै पूरा भएन”, धामी भन्छन् , “अब त लालपुर्जा पाइने आशा नै छैन ।”   रासस    

    
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार