ललितपुर–१ मा उदय शम्शेर राणा र नवराज सिलवाल दोस्रो जित निकाल्ने दाउमा

उदयलाई गठबन्धन दलको भर, नवराजलाई निवर्तमान सांसद हुँदा गरेका कामको भर 
सोमबार, कात्तिक २८, २०७९

पाटन । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने आकलन गरिएको छ । 
राणा र सिलवालबाहेक ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.सचिन घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेसनलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मङ्गोल नेसनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कवीन्द्र डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य र जनता समाजवादी पार्टी नेपालबाट गोपालराज राईले उम्मेदवारी दिएका छन् । 
राजनीतिक दलबाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
गोदावरी नगरपालिकाको १ देखि ११ सम्म र वडा नं १३ गरी १२ वटा वडा, बागमती, महाङ्काल, कोन्ज्योसोम गाउँपालिकाको पूरै भेगका १८ वडासमेत गरी ३० वटा वडा रहेको यो क्षेत्रमा ७४ हजार तीन सय ९७ मतदाता रहेका छन् । जसअनुसार ३७ हजार दुई सय २७ पुरुष, ३७ हजार एक सय ६९ महिला र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ््कमा उल्लेख छ । 
पुरानै प्रतिस्पर्धी राणा र सिलवाल दुवैले सांसदका रूपमा एक कार्यकालको अनुभव बटुलिसकेका छन् । विसं २०७० मा संविधानसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका राणालाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिलवालले पराजित गरेका थिए । विसं २०७० मा राणाले १८ हजार पाँच सय ६० मत ल्याएर जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसूदन पौडेलले १० हजार छ सय ८२ मतमात्र प्राप्त गरेका थिए । नेपाल प्रहरीको आइजिपीको प्रतिस्पर्धामा असफल भएपछि डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरी राजनीतिमा होमिएका सिलवाल पहिलो प्रयासमै सांसद बन्न सफल भएका थिए । संविधान सभा सदस्यमा निर्वाचित भएका राणा त्यसबेला अर्थ राज्यमन्त्री थिए । 
दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेका राणा र सिलवालबीच गत निर्वाचन र अहिलेमा समीकरणमा नै अदलबदल भएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले यस पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । गत निर्वाचनमा सिलवालले २६ हजार नौ सय ५१ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार राणाले २० हजार सात सय २९ मत पाएका थिए । विसं २०६५ देखि यो क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार हँुदै आएका राणा चौथो पटक चुनावी मैदानमा छन् भने सिलवाल दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् । विसं २०६५ मा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित भएका राणले २०७० को निर्वाचनमा एमालेका उम्मेदवार पौडेललाई पराजित गर्दै संविधानसभाको सदस्य हुने अवसर पाएका थिए । 
उदय शम्शेरभन्दा पहिला उनका पिता सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए । आफूले कहिल्यै जीत हासिल गर्न नसकेपछि छोरालाई राजनीतिमा स्थापित गरेर उनले राजनीतिबाट आराम लिएका छन् । बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाइँसँग पराजित भएका उनले २०५६ सालको आम चुनावमा पनि एमालकै उम्म्मेदवार सुशीला नेपालसँग हार बेहोर्नु परेको थियो । 
राणाले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जीतको बलियो आधार मानेका छन् । “म आफू सांसद हुँदा र नहुँदा पनि यस क्षेत्रको विकासमा निरन्तर क्रियाशील भएर काम गरेको छु । यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, राणाले भने ।    
उता सिलवालले पनि गत निर्वाचनमा आफू सांसद भएपछि गरेका कामहरू नै आफ्नो जीतको आधार भएको दाबी गरिरहेका छन् । “मैले सांसद भएर अघिल्लो कार्यकालमा धेरै काम गरेको छु, यहाँका जनताको सुखदुःखमा साथ दिएको छु । त्यसकारण पनि जनताले मलाई विश्वास गरेर मत दिनेछन्” सिलवालले भने । 
गत स्थानीय चुनावमा कूल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, पाँचवटा वडामा माओवादी केन्द्रले र तीनवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जीत हासिल गरेका थिए । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार आठ सय ५४, एमालेले १८ हजार नौ सय ९३, माओवादीले ६ हजार एक सय ३३ र राप्रपाले एक हजार ७५ मत प्राप्त गरेको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार