नमुना मतदानमा १० प्रतिशतको हाराहारीमा मत बदर

मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनु पर्ने सन्देश   
शनिबार, कात्तिक १९, २०७९

ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरले शुक्रबार पुल्चोकमा गरेको नमूना मतदानमा १२२ मा १० मत बदर भएको छ । 
ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११२ मत सदर भएको र १० मत बदर भएको निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् । बदर मतमध्ये ३ वटा मत पत्रमा मतदान अधिकृतले सही नगरेको पाइएको थियो । 
त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ ११७ मत सदर र ४ मत बदर भएको छ । समनुपातिकतर्फको एक मत भने प्रदेश सभाको प्रत्यक्ष तर्फको बक्समा खसालेको भेटिएको धमलाले जानकारी गराइन् । 
नमुना मतदानमा प्रदेशसभाको प्रत्यक्षतर्फ १०३ मत सदर भएको छ भने १८ मत बदर भएको छ । बदर भएका सबै मत पत्रमा मतदान अधिकृतले सही नगरेको भेटिएको थियो । प्रदेश समानुपातिकतर्फ भने ११७ मत सदर भएको थियो भने ५ मत बदर भएको थियो । बदर मतमा २ वटा मतपत्रमा मतदान अधिकृतले सही नगरेको पाइएको थियो । नमुना ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेका थिए । 
“मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो, शहरी भेग भएपनि धेरै मतदाताहरुमा कसरी मतदान गर्ने भन्ने ज्ञान नहुँदा बदर मतको संख्या बढि नै हुने देखिन्छ, यसका लागि राजनीतिक दल र उम्मेदवारहरुले पनि घरदैलो कार्याक्रम गर्दा मतदान गर्ने तरिका पनि सिकाउनु पर्ने जरुरी देखिन्छ।” प्रमुख धमलाले  भनिन् । 
ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं। ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै  सञ्चालन हुने धमलाले बताए । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ । 
प्रतिनिधिसभाका लागि ३ वटा निर्वाचन क्षेत्र रहेका ललितपुरमा प्रदेशसभाका लागि ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल दुई लाख ५० हजार ४ सय १० मतदाता छन्। एक महानगरपालिका दुई नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा दुई सय ९० वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार