सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो । प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको बागमतीले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रनमा समेटियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए । त्यस्तै इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे । रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाए । प्रतिष जिसी १२ रनमा आउट भए । प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको प्रदेश–१ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । प्रदेश–१ का लागि अङ्कित सुवेदीले ११० रनको शतकीय इनिङ खेले । उनले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले भने विवेक आनन्द मेहेताले ३० रन तथा सोनु अन्सारीले १९ रन बनाए । बागमती प्रदेशका रामनरेश गिरी एक्लैले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले समान एक÷एक विकेट लिए । यस जितसँगै समूह ‘बी’मा रहेको प्रदेश–१ ले दुई खेलमा दुई अङ्क जोडेको छ । प्रदेश–१ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बागमती प्रदेशको भने यो लगातार दोस्रो हार हो । त्यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै विजयी भएको छ ।
एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण विकेट हात पार्दै ‘प्लेयर अफ दि म्याच’ तथा ‘प्लेयर अफ दि सिरिज’को ट्रफीसमेत हात पारिन् । यो जितसँगै नेपाली महिला क्रिकेट टोली क्यान–११ ले सिरिजसमेत हात पारेको छ । क्यान ११ ले टी–२० मा समेत एमसिसिलाई पराजित गरेको थियो । खेलमा टस जितेर ब्याटिङ रोजेको एमसिसीले छ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसिसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिङ्गरले २५ रनको योगदान दिइन । नेपालका लागि वलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान दुई÷दुई विकेट लिँदा सीता राना र इन्दु वर्माले एक÷एक विकेट लिए । खेलमा जितका लागि १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ३९ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाली टोलीका नेरी थापाले ५५, कविता कुँवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाए । एमसिसीका लागि अमान्दा पोटगिजरले तीन विकेट लिँदा एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान दुई÷दुई विकेट लिए । रिचेल पोर्टरले एक विकेट लिए । क्रिकेटको जन्मस्थल मानिने बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) क्रिकेट खेलको विकास तथा प्रचारका लागि अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण गर्ने गर्दछ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वनकुमार गुरुङ, सदस्य सचिव घनश्याम पौडेललगायतले पुरस्कार वितरण गरे ।