ओलीले संविधानलाई नै इन्कार गरेपछि आफू त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको : घनश्याम भूसाल 

आइतबार, कात्तिक १३, २०७९

 रुपन्देही । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही(१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे । भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’  नेता भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए । त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीरसमेत गरे । अनलाइन  खबर 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार