सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । फूल तथा दियोको पर्व दिपावलीमा दिप जलाउँदा ध्यान नपुग्दा धेरै स्थानमा आगलागिका घटना भए । घर वरपर बत्ति बाल्दा करेन्ट लागेर पनि मानिसको ज्यान गयो । यसैले रमाइलोका लागि दिप बाल्दा तथा बत्ति जडान गर्दा पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई सुरक्षा निकायले आग्रह गरिरहेका छन् । यस्तैमा बिहीबार दुई स्थानमा आगलागीका घटना भएका छन् । ताप्लेजुङ तथा हेटौडामा भएका आगालागीका घटनामा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए ।
हेटौंडाको होटेलमा आगलागी
यता हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा बिहीबार दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ । होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताउनुभयो । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ ।