बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

बिहीबार, कात्तिक १०, २०७९

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 
जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८-७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १० लाख रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक स्टिमेट परिवर्तन गरी दुईकोठे भवन निर्माण थालियो ।
गत आवको बजेटबाट दुईकोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङ्गरोगन गर्न बजेट पर्याप्त थिएन । “विद्यालयको कोषमा रहेको रु ६० हजार रकमसमेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भनिन्, “तर यस वर्ष बजेट नछुट्टिँदा हामी समस्यामा परेका छौँ ।”
प्राविधिक स्टिमेटअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटरबाटो आइनपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो । “रड, सिमेन्ट र बालुवाको करिब रु तीन लाख ऋण छ”, प्रअ घिमिरेले भनिन्, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।” यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटक–पटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भए पनि बजेटको प्रबन्ध नहुँदा समस्या भएको घिमिरेले बताइन् । 
नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरूले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले बताए । “नगरप्रमुख, उपप्रमुखज्यूलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरे पनि उहाँहरू आउनुभएको छैन”, थापाले भने, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उनको भनाइ छ । 
कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५ विद्यार्थी छन् । एक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीनकोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँचवटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाइ प्रभावित भएको प्रधानाध्यापक घिमिरेले बताइन् । विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोस्रो कोठामा कक्षा २ र ३ तथा तेस्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उनले बताइन् । “एकातिर पर्याप्त शिक्षक छैनौँ, अर्कातिर भौतिक संरचनाको अभाव छ”, प्रअ घिमिरेले भनिन्, “नयाँ भवनलाई पूरा गर्न पाए केही सहज हुने थियो ।”

खुला चौरमा पढ्न बाध्य

महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन् । 
प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष २०७८र७९ मा भौतिक निर्माणका लागि रु ५० लाख पठाएको थियो । जनप्रतिनिधिहरू जिम्मेवार नहुँदा स–साना बालबालिका चर्को घाम, वर्षा र धुलोधुवाँको सामना गर्दै खुला चौरमा पढ्न बाध्य भएका हुन् ।
उक्त बजेटबाट विद्यालयमा रहेको सरस्वती मन्दिरको पर्खाल, विद्यालयको मुख्यद्वारबाट मन्दिरसम्म पुग्ने एक–दुई फिट चौडाइ भएको ढलान बाटो र करिब एक सय ५० वटा गुणस्तरहीन प्लाइ लगाएर डेस्क–बेञ्च निर्माण गरिएको छ ।
गत असारदेखि कात्तिक महिना लाग्ने बेलासम्म जिल्लामा पानी परेकाले विद्यालयमा निर्माण गरिएको डेस्कबेञ्च कक्षाकोठामै राखी बाहिरबाट ताल्चा लगाइएको छ । कक्षा कोठा छ, कमसलै भए पनि डेस्कबेञ्च पनि छन् तर विद्यार्थी भित्र छिर्न पाएका छैनन् । 
स–साना बालबालिकालाई खुला चौरमा र चर्को घाममा पढाउँदै गरेकी शिक्षिका कल्याणी चौधरीले विगत चार–पाँच महिनादेखि बालबालिकालाई यस्तै पढाउँदै आएको जानकारी दिइन् । उनले बालबालिका खुला ठाउँमा पढ्नुपर्दा पटक–पटक बिरामी हुने, नियमित नआउने र बर्खामा पानी परेको दिन पठनपाठन ठप्प हुने बताइन् ।
यस विषयमा प्रधानाध्यापक रंजय रायले आफूहरूलाई कति बजेट आयो, कति खर्च भयो भन्नेबारेमा केही थाहा नभएको बताए । साथै उनले प्लाइको डेस्कबेञ्च बर्खाको पानीमा बिग्रिने डरले जनप्रतिनिधिले नै चारवटा कक्षाकोठमा ती डेस्कबेञ्च राखेर ताल्चा लगाइदिएका कारण बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएको बताए । उनले नगर शिक्षा ऐनका कारण विद्यालयसँग कुनै अधिकार नरहेको र जनप्रतिनिधिले आफूखुसी गर्न थालेका कारण दिनानुदिन पठनपाठन तथा विद्यालयको वातावरणमा नाकारात्मक प्रभाव परिरहेको बर्ताए ।
नगर शिक्षा संयोजक जयकुमार साहले सो विद्यालयमा कक्षाकोठा हुँदाहुँदै बालबालिका खुला चौरमा पढिरहेको तथा चारवटा कक्षाकोठामा डेस्कबेञ्च राखिएकोबारे आफूलाई थाहा नभएको बताए । उनले यस नगर शिक्षा शाखामा तीन जनाको न्यूनतम दरबन्दीमा आफू एक्लै भएका कारण विद्यालयको अनुगमन निरीक्षणसमेत गर्न नसकिएका कारण विद्यालयमा भएको समस्याबारे आफूलाई थाहा हुन नसकेको बताए । उनले मावि पर्सापतैलीमा रहेको समस्याको तत्कालै अनुगमन निरीक्षण गरेर समाधानतिर लाग्ने प्रतिबद्धता प्रकट गरे । 
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण झाले  उक्त विद्यालयमा भएको कामको आफूहरूलाई केवल रु ३८ लाखको मूल्याङ्कन गरी सोही बराबरको रकम भुक्तानी गरेको बर्र्ताए । उनले पनि सो विद्यालयमा त्यसरी विद्यार्थीलाई खुला चौरमा र कक्षाकोठमा डेस्कबेञ्च राखिएकोबारे तत्काल पहल गरेर विद्यार्थीको समस्या समाधान गर्ने वचन र्दिए । 
नगरप्रमुख सुरेश साह सोनारले आफूकहाँ त्यस विद्यालयको गुनासो आइसकेको र गुनासोप्रति अति संवेदनशील भएको बताउनुहुँदै तत्कालै स–साना बालबालिकालाई खुला चौरमा पठनपाठन गर्न बाध्य बनाएका सम्पूर्ण पक्षलाई बोलाएर आवश्यक अनुसन्धान तथा कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।–

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार