‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

बिहीबार, कात्तिक १०, २०७९

कर्णाली । हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली) मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।
यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ ।
हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ । देउसीमा ¥याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन । 
एक दशकअघि हरेकलाई हेरौँ हेरौँ लाग्ने देउसीभैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बर्ताए । हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ”, आचार्यले भने, “त्यसको जगेर्ना, संरक्षण र संवद्र्धन गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ ।”
विभिन्न सांस्कृतिक चाडपर्व, शुभसाइत, शुभ दिन, शुभमुहूर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उनले बताए । परिवर्तनका नाममा अनुशासनहीन गतिविधिलाई नियन्त्रण गरेर सांस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाइ छ । 
अहिलेको पुस्ताले पुर्खाको विरासतलाई बचाउनेभन्दा ध्वस्त पार्ने काम गरेको जुम्लाको तिला गाउँपालिका–४ की  ९९ वर्षीया कालु शाहीले बताउनुभयो । ज्येष्ठ महिला शाहीले भने, “हामी कहाँ १०–१५ वर्ष अघिसम्म यस्तो देउसीभैली खेल्ने संस्कृति देखिँदैनथ्यो । त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरूको देउसीभैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौँ ।”
आजभोलिको देउसीभैली हेर्दा त निकै छाडाजस्तो लाग्ने गरेको उनले बताए । शाहीका अनुसार अचेलको भैलीमा ती छोरा–छोरी (केटाकेटी) मा एकातिर अनुशासन देख्न पाइँदैन भने अर्कातिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ । नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उनले प्रतिक्रिया र्दिए ।
  सोही वडाका ८० वर्षीय वीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउने आजको पुस्ताले आफ्नो सिर्जना रत्ति पनि प्रस्तुत गर्न नसकेको तर्क गरे । “नयाँ पुस्ताले देउसीभैलीमा न आफ्नो संस्कृति पछ्याएको छ न त आफ्नो सिर्जना नै पस्कन सकेको छ”, उनले भने, “यसले आजको पुस्तालाई गीत, सङ्गीत र सिर्जनामा समेत परनिर्भर बनाएको छ ।”
फेरिँदै गएको देउसीभैलीले हाम्रो नेपालीपनलाई आयातित संस्कृतिमा रुपान्तरण गरेको उनको बुझाइ छ । मुलतः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सिर्जना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरूले गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार