तनहुँको व्यास–११ बेल्टारीमा शिल्पी थिएटरको ‘साना साना सपना’ नाटक प्रदर्शन

बुधबार, कात्तिक ९, २०७९

दमौली । शिल्पी थिएटरकोमुक्त रङ्गमञ्च ‘साना साना सपना’ नाटक तनहुँको व्यास नगरपालिका–११ बेल्टारीमा प्रदर्शन गरिएको छ । युवराज घिमिरेको परिकल्पना तथा निर्देशन रहेको उक्त नाटक तिहारको अवसर पारेर प्रदर्शन गरिएको हो । 
राज्य तथा स्थानीय सरकारले अपनाएको विकासको योजना र कामसँग जनताको आवश्यकताको तालमेल कसरी हुनसक्छ र खास विकास के हो भन्ने बहस नाटकमा प्रस्तुत गरिएको छ । नाटकमा दुई परिवारको कथा चित्रण गरिएको छ । किसान परिवार र नगरपालिकाका उपप्रमुखको परिवार र उनीहरुको दैनिकीलाई नाटकमा उतार्ने कोसिस गरिएको छ । एउटा किसान परिवारमा किसानले उत्पादन गरेको अन्नबालीमा मूल्य कम छ ।

silpi1666788194.jpg
सामान्य सरकारी काममा पनि झमेला खेप्नुपर्छ । यही किसान परिवारको नाति पुस्ता यो सबै बदल्ने अठोट गरेर राजनीतिमा लागेको छ । नाटकमा अर्को परिवार उपप्रमुखको छ । उनको लक्ष्य राजनीतिको अझै निर्णायक स्थानमा पुग्ने हुन्छ । उनका श्रीमान् निर्माण व्यवसायी छन् । पवित्रा खड्काको निर्देशन सहयोगी रहेको नाटकमा मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, झकेन्द्र विसी, ज्योति पोखरेल, सविन कट्टेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल लगायतको प्रस्तुति रहेको छ । 
यो नाटक लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिमका २१ ठाउँमा मञ्चन गरिसकिएको जनाइएको छ । 
नाटक अवलोकनपछि स्थानीय सन्तोष गोदारले नाटकमा विभिन्न विषयलाई बेजोड रुपमा उठान गरिएको बताए । “किसानले मल बीउ नपाएको, उत्पादन भएका वस्तुहरुले मूल्य नपाएकोदेखि सरकारी ढिलासुस्तीसम्मको विषयलाई उठाइएको नाटक यथार्थपरक छ”, उनले भने । 
गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले नाटक जीवन्त रहेको बताए । युवा अभियान्ता अपार पौडेलले नाटक हरेक नेपालीका सपना भएको र प्रस्तुति र विषय गज्जब रहेको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार