उपन्यास ‘टुवरा’ सार्वजनिक

मंगलबार, कात्तिक ८, २०७९

भरतपुर । चितवनका युवा आख्यानकार मनोज चौधरी ‘अज्ञात’को नयाँ उपन्यास ‘टुवरा’ सार्वजनिक गरिएको छ । उपन्यासको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले विमोचन गरेका हुन् ।

उपन्यासको नाम ‘टुवरा’ थारू भाषाबाट राखिएको हो । जसलाई नेपाली भाषामा ‘टुहुरा’ भनिन्छ । यस उपन्यासमा गरिब थारू किसानको कथाव्यथा समेटिएको लेखक चौधरीले बताए । लेखक मनोजको पहिलो उपन्यास ‘टुकी’ २०७५ सालमा सार्वजनिक भएको थियो ।
माडी नगरपालिकाकी प्रमुख ताराकुमारी महतोले यस उपन्यासले थारू समुदायको कथालाई बोलेको बताइन् । उनले थारू समुदाय सांस्कृतिकरूपमा धनी भए पनि साहित्यिक क्षेत्रमा यो समुदायको प्रतिनिधित्व कम रहेको भन्दै आख्यानकार चौधरीलाई बधाई दिइन् । 
उनले माडी नगरपालिकाले साहित्य र साहित्यकार प्रवद्र्धनमा विशेष प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
थारू पत्रकार सङ्घ नेपाल चितवन शाखाले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका बारेमा विभिन्न व्यक्तिहरूले चर्चा गरेका थिए । कार्यक्रममा समीक्षक उदय अधिकारी, रमेश प्रभात, अमर जनशक्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख तोयानाथ पौडेललगायतले यस उपन्यासमा भुइँमान्छेको कथा समेटिएको बताएका थिए ।    
यस्तै कार्यक्रममा समीक्षक ज्ञानेन्द्र महतो, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, साहित्यकार धनराज गिरी, प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल, थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, थारू पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरी, आशाराम चौधरीलगायतले थारू समुदायको वर्तमान अवस्था किताबमा कम आएको भन्दै लेखक चौधरीलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । 

गीत जाग जाग सार्वजनिक
वरिष्ठ सङ्गीतकार स्व भोला जोशीको सङ्गीत तथा वरिष्ठ गीतकार शम्भुप्रसाद बाँस्कोटाको शब्द रहेको ‘जाग जाग’ बोलको गीत सार्वजनिक गरिएको छ ।

gayakharu1666658243.jpg
गीतको म्युजिक भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा सङ्गीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरू क्रमशः रोजिना बल, सङ्गीता मगर र पुनम थापा मगरको स्वर रहेको छ । गीतको सङ्गीत संयोजन दीपकराज विश्वकर्माले गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार