राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

आइतबार, कात्तिक ६, २०७९

नेपालगञ्ज ।  बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए  । “अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने  । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए  । उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे  ।  तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ । रासस   
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार