सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

आइतबार, कात्तिक ६, २०७९

चौतारा ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा छन्  । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उनले स्मरण गरे  । चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने  । हालसम्म १२ पटक भोट हालिसकेका  उनले  गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताए  । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।  “यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्छन् , “छोरानातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताए  । अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।  रासस 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार