सन्दीपमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं । बलत्कारकाे आराेपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।

लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । उनले सँगै बसेको तर बलात्कार नगरेको जिकिर गरेका छन् ।

लामिछाने २० असोजमा काठमाडौं फर्किएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । त्यतिबेलादेखि नै सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार