सोसल मिडिया
Contact Us
युनिकोड
तुलसीपुर । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए । तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए । स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।
दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्र्याक्टर आज दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
झापा दुर्घटनामा एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको पथरीशनिश्चरे सडकखण्डको जयचोकमा आज सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलमा जाने क्रममा अनियन्त्रित भई झापाको बिर्तामोड–४ का ४५ वर्षीय हरिकुमार बाँस्कोटाको मृत्यु भएको हो । को३७प ३२५५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र पेटमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । गम्भीर घाइते बाँस्कोटाको मोरङको उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।