माथिल्लो तामाकोशी एक साता बन्द हुने

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । 

दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टा नदीको बहाव बढ्ने भएकाले सो अवधिभर सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ । 
तल्लो तटको लामाबगर, छेतछेत, गोङ्गर, जगत, टुनिटार, जामुने, भोर्ले, सिङ्गटी, नयाँ पुल, कीर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न नगराउन आयोजनाले आग्रह गरेको छ । यस्तै नदी किनारमा परम्पराअनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतकर्कतापूर्वक गर्न गराउन सबैमा अनुरोध गरिएको आयोजनाले स्पष्ट पारेको छ । 

मुख्यसचिवको नेतृत्वमा अरुण तेस्रो जलविद्युत् परियोजनाको अनुगमन
 
नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिका बारेमा उच्चस्तरीय टोलीले आज जानकारी लिएको छ । मुख्यसचिव शङ्करदास वैरागी नेतृत्वको उक्त टोलीले परियोजनाको बाँधस्थल, विद्युत्गृह, प्रसारणलाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।
 अन्तरक्रियामा अरुण तेस्रो जलविद्युत् परियोजना र प्रसारणलाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयहरूमा छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
कार्यक्रममा मुख्यसचिव वैरागीले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषय समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएका थिए । उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजना तोकिएको समयमै कार्यान्वयन गर्न आग्रह गरे । 
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमूना परियोजना रहेको जनाउँदै बिना अवरोध प्रभावकारीरूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए ।
उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढङ्गले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आग्रह गरे । अनुगमन टोलीमा विभिन्न मन्त्रालयका सचिव, बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारी तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिको सहभागिता रहेको बोर्डका सूचना अधिकारी राजुप्रसाद गुरागाईंद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार