नवौँ राष्ट्रिय खेलकुद सकियो, दशैं खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा

सेना च्याम्पियन, प्रधानमन्त्रीद्वारा ट्रफी हस्तान्तरण
शुक्रबार, कात्तिक ४, २०७९
Global Ime Bank

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सकिएको छ । आगामी दैशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिने भएको छ । समापन समारोहमा पोखरा रंगशालामा आगामी दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसिलाई  दशौँ राष्ट्रिय खेलकुदको झण्डा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण गरेका छन् । १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने तय भएपछि झण्डा हस्तान्तरण भएको हो । 

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी भएका थिए । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

सेना च्याम्पियन, प्रधानमन्त्रीद्वारा ट्रफी हस्तान्तरण

नवौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएका ३६ खेलहरूमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ कांस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो ।
च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गर्नुभयो । उहाँले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरूलाई सो ट्रफी हस्तान्तरण गरे । 
पहिलो पटक राष्ट्रिय खेलकुदको बिजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित २१९ पदक जितेर द्वितीय भएको छ ।
नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कांस्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरू मध्येमा पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्यसहित १२० पदक समग्रमा चौथो भएको छ ।
बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो ।  प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ ।  सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कांस्य सदकसहित ६३ पदक जित्न सफल भयो ।
एनआरएनएले १० स्वर्ण नौ रजत र सात कांस्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक जितेको छ । मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कांस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य सहित १८ पदक जितेको छ ।

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए ।

ROS_KTM_PMDEUBA_1666301602.jpg
चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे । 
राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।”
प्रतियोगिताको दौरानमा हाम्रा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उनले बताए । प्रतियोगिता सफलताका साथ सम्पन्न गरेर हामीले खेलकुद क्षेत्रको विकासमा नयाँ इतिहास बनाएको उनले उल्लेख गरे ।
प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेल प्रतियोगितमा एक जना खेलाडीको दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीले दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उनले सम्बद्ध सबैलाई निर्देशन दिए । 
प्रतियोगिताको समाप्तीसँगै यसका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको उनले बताए । खेलकुदलाई गाउँघरदेखि सहर बजारसम्म अझ लोकप्रिय बनाउँदै आम जनमानसको पहुँचसम्म पुर्‍याउन मद्दत गर्ने यस किसिमको प्रतियेगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत गर्ने बताउँदै उनले सबैमा खेलकुदको महत्व र उपयोगिताबारे समाचार सम्प्रेषण गर्दै स्वास्थ्य र अनुशासित जीवनको सन्देशसमेत दिने उल्लेख गरे ।
खेल आयोजना क्षेत्रमा नयाँ भौतिक पूर्वाधार संरचनाको निर्माणमार्फत खेलकुदका साथसाथै आर्थिक विकासमा पनि टेवा पुग्ने बताउँदै प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा खेलकुद देशको नाम, पहिचान, प्रतिष्ठा र यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने माध्यम रहेको बताए ।
सरकारले खेल क्षेत्रलाई अर्थतन्त्र, कूटनीति र पर्यटनसँग पनि आबद्ध गर्दै यस क्षेत्रको दीगो र चौतर्फी विकास गर्ने नीति लिएको भन्दै उनले बर्तमान विश्वमा खेलकुद क्षेत्रको नतिजा बहुआयामिक हुने कुरालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले जोड दिँदै आएको उल्लेख गरे ।
सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले प्राप्त गरेको उपलब्धि प्रशंसनीय भएको भन्दै उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा आयोजित प्रतिष्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उँचो बनाएको बताउनुभयो । आगामी दिनमा खेलाडी तथा प्रशिक्षकको उच्च मनोबलका साथ आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र यस अभिवृद्धि गर्दै जान योगदान गर्ने उहाँले विश्वास व्यक्त गरे ।
सरकारले खेलकुदमार्फत राष्ट्रको सान र इज्जत उँचो बनाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रोत्साहित गर्न र उनीहरूको मनोबल उच्च राख्न विभिन्न सम्मान कार्यक्रम तथा नगद पुरस्कार वितरण गर्दै आएको र यसलाई आगामी निरन्तरता दिँदै थप विस्तार गर्दै लैजाने पनि उनले बताए । 
खेलाडीको बीमा, मासिक वृत्ति र औषधोपचार सुविधालगायत क्षेत्रमा पनि सरकारले गृहकार्य गरेको उनको भनाइ छ ।
राष्ट्रको गौरव खेलाडीलाई यथासम्भव आर्थिक तथा गैरआर्थिक सुविधा र प्रोत्साहनको व्यवस्था गरी उनीहरूको ध्यान खेलकुदमा लगाउने र उनीहरूलाई आफू संलग्न खेलमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने वातावरण निर्माण सरकार प्रतिबद्ध रहेको उनले बताए । 
खेलकुद क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै उनले यसलाई निजी क्षेत्रको लगानीलाई पनि प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याए ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार