नवौँ राष्ट्रिय खेलकुदको फुटबलमा एपिएफ सेमिफाइनलमा

मंगलबार, कात्तिक १, २०७९
Global Ime Bank

कास्की । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 
पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गोस्तेघाट फुटबल मैदानमा आज भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । एपिएफसँग पराजित भएपछि बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ । 
खेलमा अग्रता भने बागमतीले बनाएको थियो तर उसले सुरुआती अग्रता जोगाउन सकेन ।  पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । 
खेलको ६५औँ मिनेटमा एपिएफका प्रदीप लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७६औँ मिनेटमा नवीन लामाको गोलमार्फत एपिएफले अग्रता बनायो । लामाले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गरेपछि एपिएफको जित सुनिश्चित भएको हो । 
यसैगरी आजको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा समूह ‘सी’ अन्तर्गत भएको खेलमा पुलिसले ४–१ गोलअन्तरले लुम्बिनी प्रदेशलाई हराएको हो । पुलिसको जितमा कुलदीप कार्कीले दुई गोल गरे भने आशिष श्रेष्ठ र बुद्धबल तामाङले समान एक–एक गोल गरे । लुम्बिनीका लागि फागुराम थारूले एक गोल फर्काए । पुलिस र लुम्बिनी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस समूहबाट नेपाली सेना शीर्षस्थानमा रहँदै सेमिफाइनमा प्रवेश गरिसकेको छ । 
पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपिएफ रहेका छन् । त्यसैगरी  आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ । 

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो । 
शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले एक–एक स्वर्ण हात पारेका छन् । 
टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश नं १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित तीन रजत र दुई कास्य पदक जितेको हो ।
प्रतियोगितामा मधेस प्रदेशले दुई रजत, बागमतीले दुई रजत, एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार