राष्ट्रिय महिला भलिबलमा गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश 

मंगलबार, कात्तिक १, २०७९
Global Ime Bank

म्याग्दी । गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । 
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । 
मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, सशस्त्रले लुम्बिनी, बागमतीले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।  
प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमिफाइनल पुग्न सेकेन । पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो । सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो । 
सशस्त्रले लुम्बिनीका विरुद्ध २५–१९, २५–१८ र २५–१० को अन्तरमा जीत निकालेको हो । सदूरपश्चिम प्रदेश बागमतीसँग २५–१२, २५–१५, २५–२३ अन्तरमा पराजित भयो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५–१७ को अन्तरमा पराजित गरेको हो । 
मङ्गलबार सेमिफाइनलमा सशस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । क्वार्टरफाइनलको खेलमा सशस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पूर्णिमा राईलाई विमेन अफ द म्याच घोषणा गरिएको थियो । 
लिक कम नकआउट बेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 

बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी छन् । 
प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए । लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बागमती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नं १ की खुश्बु थापालाई पराजित गरेकी थिइन् । 
त्यस्तै क्लासिकल चरणको पाँचौँ चरणको खेलमा लोहनीले प्रदेश नं १ की खेलाडी कृतिसारा अधिकारी, छैटौँ चरणको खेलमा नेपाल पुलिस क्लबकी पूनम प्रसाईँ, सातौँ चरणको खेलमा गण्डकी प्रदेशकी पूजा भण्डारी, आठौँ चरणको खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशीला गुरुङलाई पराजित गरेकी हुन् । 
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै सिन्दिरा जोशीले सात खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भएकी छन् । त्यस्तै प्रदेश नं १ की खुश्बु थापाले छ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल हुनुभएको आयोजकले जनाएको छ । स्वर्ण पदक विजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिकतर्फको क्लासिकल इभेन्टमा सबै खेल जितेर स्वर्ण पदक विजेता बनेकी थिइन् । 

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी 

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको छ ।  
महेन्द्रनगरको कभर्डहलस्थित मैदानमा आज भएको खेलमा डोटीले दिएको एक सय ४२ रनको लक्ष्य पूरा गर्दै कञ्चनपुरले विजयी सुरुआत गरेको हो । कञ्चनपुरले २४ ओभरमा पाँच विकेट गुमाउँदै डोटीले दिएको लक्ष्य पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको डोटीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रनको लक्ष्य दिएको थियो । कञ्चनपुरका अनुराग सिंहले सर्वाधिक ४६ रनको योगदना गरे । त्यसैगरी डोटीका खगेन्द्र जोशीले सर्वाधिक ५३ रनको योगदान दिएका थिए ।  
खेलमा कञ्चनपुरका मिलन बोहरा म्यान अफ दी म्याच घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्र चन्दले आज भएको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको बताए । भोलि कात्तिक १ गते दार्चुला र डोटी बीच प्रतिस्प्रर्धा हुनेछ ।
“प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्”, उनले भने, “छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन् ।”    

उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिने अध्यक्ष चन्दले बताए । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार