सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल प्रहरीलाई प्रहरी प्रदेश मातहतमा ल्याउने गरी काम भइरहेको बताएका छन् । नेपाल प्रहरीको ६७औँ प्रहरी दिवसका अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा सोमबार आयोजित विशेष कार्यक्रममा उनले नेपाल प्रहरी अब छिट्टै प्रदेश मातहत आउने बताएका हुन् । नेपाल प्रहरीलाई प्रदेश मातहतमा ल्याउन केही ढिलाइ भइरहेको भन्दै उनले अब भने प्रदेश मातहतमा ल्याउन ढिलाइ नहुने उल्लेख गरे । नेपाल प्रहरी जनतासँग सँगै हुने भएकाले प्रहरीलाई जनताको पहिलो सारथि नेपाल प्रहरी नै रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो । उनले कर्णालीमा आएको बाढीपहिरामा रातदिन नभनेर काम गरेको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री शाहीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मानसमेत गुर्नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
प्रहरी निरीक्षक शाही सर्वोत्कृष्ट अनुसन्धान अधिकृत
इलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक शाहीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलेसर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरे । अपराध अनुसन्धानको क्षेत्रमा गरेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै मुख्यमन्त्री शाहीद्वारा प्रहरी निरीक्षक शाही पुरस्कृत भएका हुन् । यसअघि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए । दैलेखको पश्चिम दुर्गममा पर्ने ठाटीकाँध गाउँपालिकामा जन्मनुभएका उहाँले सुर्खेतमा एक वर्ष कार्यरत हुँदा पनि अपराध न्यूनीकरणमा राम्रो भूमिका निर्वाह गरेका थिए । प्रहरी दिवसका अवसरमा शाहीसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर काम गर्दै आएका नौ जना प्रहरी कर्मचारीविभिन्न विधामा पुरस्कृत भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री राउतकाे भनाइ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएको छन् । मधेस प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रममा उनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्वपूर्ण भूमिका हुने बताए । मुख्यमन्त्री राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडि बढाउनका लागि सङ्घीय सरकारले आग्रह गरेको बताउँदै प्रदेश सरकारको अनुभूति गराउनका लागि पनि प्रहरी सङ्गठन प्रदेश सरकार मातहत हुनुपर्नेमा जोड दिए । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपालको शान्ति, सुरक्षामा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउँदै मधेस प्रदेश सरकारले सङ्घीय सरकारको अवरोधका कारणले प्रदेशमा प्रहरी भर्ना गर्न नसकेको गुनासो गरे । मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक मकसुद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुविकुमारी कर्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपालको शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्नमा प्रहरीको भूमिका महत्पूर्ण भएको बताए । कार्यक्रममा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान दिएको लाइफ नेपाल नामक संस्थालाई सम्मानित गरिएको थियो । यसैगरी सहिद परिवारलाई पनि मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।