सोसल मिडिया
Contact Us
युनिकोड
लेखानाथ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलतर्फ चौथो दिन सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले जित हात पारेको छ । सोमबार फाइभ अन फाइभ बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल आर्मीले पुलिसमाथि सहज जित निकालेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । आर्मीलाई जिताउन आयुष सिंहले सर्वाधिक ३२ अङ्क प्राप्त गरेका थिए । त्यस्तै समूह (ए) तर्फको दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश नं १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । सोमबार नै सम्पन्न थ्री अन थ्री खेलअन्तर्गत समूह (ए)को तर्फ एपिएफले प्रदेश नं १ लाई २१–१० स्कोरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिसले मधेस प्रदेशलाई १९–०७ स्कोरले पराजित गरेको छ ।
पुलिस र सशस्त्र महिला क्रिकेटको फाइनलमा
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपिएफले लुम्बिनी प्रदेश तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दैै फाइनलको यात्रा तय गरेका हुन् । यही असोज २३ देखि जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशमाथि ६७ रनको जित निकाल्दै एपिएफ फाइनल प्रवेश गरेको हो ।
सुरुआती ब्याटिङ गरेको एपिएफले एक सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८ ओभरको दोस्रो बलमा ६२ रनमात्र बनाउन सक्यो । लुम्बिनीका कसैले पनि दर्शनीय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपिएफका नेरी थापाले चार विकेट लिइन् भने इन्दु बर्माले एक विकेट लिइन् । एपिएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि सुरुआती ब्याटर ज्योति पाण्डेले सर्वाधिक ६९ रन बनाइन् । यसगरी सेमिफाइनलको दोस्रो खेलमा पुलिसले बागमती प्रदेशमाथि ३६ रनको जित निकालेको छ । पहिला ब्याटिङ गरेको पुलिसले काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रनमा चार विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर ८७ रनमात्र बनायो । पुलिसका बलरहरू कविता कुँवरले तीन, इश्वरी विष्टले दुई तथा रुविना क्षेत्री र सङ्गीता राईले समान एक–एक विकेट लिइन् । बागमतीको तर्फबाट सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाइन् ।
महिला फुटबलमा एपीएफ र प्रदेश नं १ विजयी
वालिङमा गत बिहीबारदेखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएका छन् । आज भएका खेलमा एपीएफ र प्रदेश नं १ विजयी भएका छन् । वालिङ खेलमैदानमा भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै एपीएफले पेनाल्टीमार्फत अग्रता लिएको हो । एपीएफका तर्फबाट रञ्जना दर्जीले गोल गर्दै टिमको अपराजित यात्रालाई अगाडि बढाएकी हुन् । छैटौँ मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन् भने सरु लिम्बुले ३७औँ मिनेटमा तेस्रो गोल गर्दै अग्रता बढाएकी हुन् ।
मध्यान्तर अघि ३–० को नतिजा निकालेको एपीएफले मध्यान्तरपछि थप दुई गोल गरेको हो । मन्ध्यान्तरपछिको ८३औँ मिनेटमा पुनः रञ्जनाले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरिन् । ८८औँ मिनेटमा अनिता बस्नेतले पाँचौँ गोल गरेकी थिइन् । प्रतियोगिता अवधिभर एपीएफ तीन खेलमा अपराजित हुँदै अगाडि बढेको छ भने गण्डकी प्रदेश एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । दोस्रो खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको पाँचौँ मिनेटमा प्रदेश नं १ की अनिता गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । २२औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन् । मध्यान्तरसम्म २–० गोल अन्तर रह्यो । मध्यान्तरपछि ८४औँ मिनेटमा तीर्थाकुमारी लिम्बुले प्रदेश नं १ का लागि तेस्रो गोल गरिन् भने ८५औँ मिनेटमा अञ्जना थुलुङ राईले चौथो गोल गर्न पुगिन् । ८७औँ मिनेटमा ममता राउतले पाँचौँ गोल गरिन् भने अतिरिक्त समयको ९३औँ मिनेटमा पुनः अञ्जना थुलुङ राईले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाइन् । प्रतियोगिताबाट मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश बाहिरिएका छन् । भोलि मङ्गलबारको पहिलो खेल नेपाल पुलिस क्लब र प्रदेश नं १ तथा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपीएफबीच हुनेछ ।
पौडीमा आर्मीका नासीर र दुवानाको कीर्तिमान
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार सम्पन्न पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले कीर्तिमान कायम गरेका छन् । नासीरले दुई सय मिटरको फ्रीस्टाइल र दुई सय मिटरको व्यक्तिगत मिड्लेमा दुई र दुवानाले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासीरले दुई सय मिटर फ्रीस्टाइलमा आफ्नै नाममा रहेको एक मिनेट ५८ दशमलव ३० सेकेन्डको समयमा सुधार गर्दै एक मिनेट ५५ दशमलव ३९ सेकेन्ड र व्यक्तिगत मिड्लेमा दुई मिनेट ११ दशमलव ५८ सेकेन्डको समयमा सुधार गर्दै दुई मिनेट ११ दशमलव २३ सेकेन्डको समयमा पार गर्दै दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । त्यस्तै दुई सय मिटर फ्रीस्टाइलमा आर्मीका अलेक्जेन्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पदक जितेका छन् । व्यक्तिगत मिड्लेतर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले रजत र कास्य पदक जितेका छन् । पचास मिटर ब्रेस्टस्टोकमा दुवानाले ३५ दशमलव २३ सेकेन्डको नयाँ कीर्तिमान कायम राखेकी छन् । एपीएफकी रोयल प्रजापतिले रजत र आर्मीकी उपास्ती महर्जनले कास्य जितेका छन् । महिलाको आठ सय मिटर फ्रीस्टाइलमा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनेट ३० दशमलव ६४ सेकेन्ड समयमा पार गर्दै स्वर्ण जितेकी छन् । पुलिसका आर्या महर्जनले रजत र समिराशोभा थापामगरले कास्य पदक जितेका छन् । ५० मिटर ब्रेस्टस्टोकको पुरुषतर्फ प्रदेश १ का विकास कुमालले स्वर्ण जिते । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपङ्कर अवालले कास्य पदक जितेका छन् । महिलाको दुई सय मिटर फ्रीस्टाइलमा दुवानाले दुई मिनेट १४ दशमलव ४६ सेकेन्डमा साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य जितेका छन् । महिला एक सय मिटर ब्याकस्ट्रोकमा आर्मीकी गौरिका सिंहले स्वर्ण जितेकी छन् । उनले उक्त दूरी एक मिनेट ५ दशमलव ५० सेकेन्डमा पार गरेकी हुन् । एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र आर्मीकी अनुसिया तण्डुकारले रजत जितेका छन् । त्यस्तै पुरुषतर्फका एपीएफका तेञ्जिननामदोल रायन गुरुङले स्वर्ण जिते भने प्रदेश १ का प्रारम्भ भण्डारी र एपीएफका जाडेन श्रेष्ठले रजत र कास्य जितेका छन् ।
आइटिएफमा बागमती र गण्डकीले दुई–दुई स्वर्ण थपे
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा बागमती र गण्डकी प्रदेशले दुई–दुई स्वर्ण थपेका छन् । महिला र पुरुष एकल स्पाइरिङमा सोमबार भएका विभिन्न तौल समूहका खेलमा उनीहरू विजेता भएका हुन् । ५६–६० किलो तौल समूहको खेलमा बागमती प्रदेशका अनिल तामाङले स्वर्ण पदक हात पारे ।
बागमतीका तामाङसँग पराजित गण्डकीका प्रविण बुढाले रजत पदक जिते । सशस्त्र प्रहरी बलका सुमन राना र लुम्बिनी प्रदेशका हेमराज डाँगीले कास्यमा चित्त बुझाए । त्यस्तै ५१–५५ किलो तौल समूहको पुरुष स्पाइरिङमा बागमतीका रिक्सन वाइबाले स्वर्ण पदक हासिल गरे भने आर्मीका प्रेमकुमार मगरले रजत जिते । लुम्बिनी प्रदेशका अर्जुन नेपाली र सशस्त्र प्रहरी बलका सुनिल महतोले कास्य पदक पाए । त्यसैगरी ४६–५० किलो तौल समूहमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दै गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण पदक जिते । कर्णालीका धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढा मगरले कास्य पदकमा चित्त बुझाए । महिला स्पाइरिङमा ४६–५० किलो तौल समूहबाट गण्डकी प्रदेशकी सुश्मिता थापा स्वर्ण जित्न सफल भइन् । उनीसँग पराजित १ नं प्रदेशकी इन्दिरा थापाले रजत पदक पाइन् । लुम्बिनीकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक जितिन् । प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार अहिलेसम्म भएका प्याटर्न र स्पाइरिङमा सबैभन्दा बढी आठ स्वर्णसहित नेपाल आर्मी शीर्षस्थानमा छ । बागमती प्रदेश पाँच स्वर्णसहित दोस्रो र गण्डकी प्रदेश तीन स्वर्ण लिएर तेस्रो स्थानमा छ । आइटिएफ नेपालका महासचिव अञ्जु रावतले प्याटर्नतर्फका बाँकी खेल मङ्गलबार बिहानैदेखि सुरु हुने जानकारी दिइन् । बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।