एथ्लेटिक्समा पाँच स्वर्ण पदकको निर्णय

मंगलबार, कात्तिक १, २०७९
Global Ime Bank

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज एथलेटिक्सको पाँच स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक–एक स्वर्ण पदक हात पारेका छन् । पोखरा रङ्गशालामा भएको महिला एक सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारूले स्वर्ण पदक प्राप्त गरिन् ।
हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन् । यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगीरतीकुमारी थारूले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जितिन् ।

एक सय १० मिटर हर्डल्स : चौधरीलाई स्वर्ण

यसैगरी एक सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए । चौधरीले निर्धारित दूरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारूले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते ।

308445540_676907040808605_7411158124923403414_n1666019526.jpg

डिसकस थ्रो : ओली र अधिकारी विजेता

एथ्लेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कास्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी सङ्गीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन् ।

तीन हजार मिटर स्टिपल चेज,  दुर्गालाई कीर्तिमानसहित स्वर्ण

कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए ।
सो स्पर्धामा एपिएफका अजितकुमार यादवले नौ मिनेट २१ः१० सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की नौ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जिते ।

306029039_912610159717304_2312595419163018230_n1666009699.jpg

भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आज दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जित्नुभयो । यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए ।
टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । सेनाका प्रभा थारूले ‘न्याच’मा ५८ र ‘क्लिन एण्ड जर्क’मा ७१ गरी कुल एक सय २९ केजी भार उठाउँदै रजत पदक जित्दा लुम्बिनी प्रदेशका कृष्णकला विष्टले कास्य पदक जिते । उनले ‘स्न्याच’तर्फ ५६ र ‘क्लिन एण्ड जर्क’मा ७२ गरी कुल एक सय २८ केजी तौल उठाउन सफल भए ।  प्रतियोगितामा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा दोस्रो दिन चार स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजीतौल समूहमा खेल हुनेछ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन भारेत्तोलनको प्रतिस्पर्धामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०–१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ खेलाडीले भाग लिएकामा प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । 

एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा 

सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा एपिएफले बागमती प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
 
पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुप¥यो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
 
प्रतियोगिताको दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन । खेलको ६५औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । त्यसको एक मिनेटपछि अर्थात् ७६औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए ।
 
टेबलटेनिसतर्पm पाँच स्वर्ण प्रहरीलाई

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  टेबलटेनिस प्रतियोगिताका पाँचवटा इभेन्ट सम्पन्न भएका छन् । जसमा चारवटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण सशस्त्र प्रहरीले जित्न सफल भए ।
प्रतियोगिताअन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी चारवटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले जितेको हो । पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३–१, ११–८, ११–५, ११–१३, ११–६ को ३–१ को सेटले सशस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो ।

1645112959.jpg
यसैगरी प्रतियोगितामा सहभागी ११ टिममध्ये सशस्त्र प्रहरीले दुई रजत, नेपाल प्रहरी, नेपाली सेना र बागमती प्रदेशले एक–एक रजत हात पारेका छन् भने कास्य पदकतर्फ बागमती प्रदेशले दुई, एनआरएनएले दुई, प्रदेश नं १ ले दुई, आर्मीले दुई, नेपाल पुलिलले एक र गण्डकी प्रदेशले एक पदक हात पार्न सफल भएका छन् ।
स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीमा पुुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका छन् । महिला टिम इभेन्टतर्फ नवीता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वासी अवल र शुभाश्री श्रेष्ठ रहेका छन् । पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका थिए ।
महिला डबल्स इभेन्टतर्फ सशस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीमा सिक्का सुवाल र वियन्का राई रहेका छन् । विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागीय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो । 
प्रतियोगिताअन्तर्गत बाँकी रहेका दुई इभेन्टस महिला सिङ्गल्स र पुरुष सिङ्गल्सतर्फका खेल पोखराको रामबजारस्थित कोल्मा बहाकोट तमु समाज घरमा जारी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार