सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । विभागीय नेपाल प्रहरीको टोली नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन खेलमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आजदेखि सुरु भएको प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसका हिरामोती थारुले पहिलो स्वर्ण दिलाए । उनले ‘स्न्याच’ विधातर्फ ५० र ‘क्लीन एन्ड जर्क’मा ६५ गरी कूल ११५ केजी भार उठाउँदै स्वर्ण जितेका हुन् । यसैगरी सशस्त्र प्रहरी एपीएफका लीला राईले रजत र मधेस प्रदेशका अम्बिकाकुमारी यादवले कास्य पदक दिलाए । एपीएफका लीलाले स्न्याचतर्फ ४० र क्लीन एन्ड जर्कमा ५३ गरी कूल ९३ केजी र अम्बिकाले स्न्याचतर्फ ३५ र क्लीन एन्ड जर्कमा ४० गरी कूल ७५ केजी भार बहन गरिन् । सो तौल समूहमा सात जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कूल १७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य गरी ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले भारत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने प्रशस्त सम्भावना रहेको खेल भएकाले खेलाडीलाई सोहीअनुरूप मेहनत गर्न आग्रह गरे । राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९औँ एशियाली खेलकुदका लागि राष्ट्रिय टिममा अनुबन्ध हुने उहाँले बताउनुभयो । यही असोज २९ गतेदेखि सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको बताइन्छ ।
आईटीएफ तेक्वान्दोमा आर्मी र बागमतीले स्वर्ण थपे
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मी र बागमती प्रदेशले स्वर्ण पदक थपेको छ । पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ नेपाल आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आज भएका खेलमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हासिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित वर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल आज सुरु भए पनि समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ । सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आईटीएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् ।