नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

सोमबार, असोज ३१, २०७९
Global Ime Bank

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक÷एक स्वर्ण पदक जितेका छन् ।
पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै बागमतीका लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । 
नेपाली सेनाका उषा खनालले निर्धारित दूरी एक  घण्टा १२ मिनेट ३९ सेकेन्डमा पार गरी रजत पदक जित्दा एक घण्टा २० मिनेट ०४ सेकेन्डमा लक्ष्य पूरा गरी एपीएफका हुमी बुढामगरले कास्य पदक जितिन् । 
पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएका छन् । १९ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै एपीएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भए । 

KD-Kaski-Kheladia1665960200.jpg
सेनाका हिमाल टमाटाले उक्त दूरी एक घण्टा ११ मिनेट ४३ सेकेन्डमा पार गर्दै रजत पदक जिते । यसैगरी एक घण्टा १३ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जिते ।
साइक्लिङमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता छ । साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ । ‘रोड रेस इन्डिभिजुअल टाइम ट्रायल’ र ‘रोड रेस मास स्टार्ट’ विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न चार विधामा पुरुष र महिला गरी आठ÷आठ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछ । 
गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरू भइरहेका छन् । प्रतियोगितामा ३६ खेल सञ्चालन हुनेछ । 

रग्बीमा आर्मी अगाडि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार रग्बीका १२ खेलहरू सम्पन्न भएका छन । आइतबार सम्पन्न पुरुषतर्फका खेलहरूमा विभागीय टिम नेपाल आर्मीले सुदुरपश्चिम प्रदेशलाई १९–० ले पराजित गरेको छ भने प्रदेश नं १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ बराबरीमा टुङ्गिएको छ । दुवै टिमले खेल अवधिभर कुनै अङ्क जोडन सकेनन ।
यस्तै आइतबार सम्पन्न तेस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले बागमती प्रदेशलाई २९–० ले पराजित गरेको छ भने चौथो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई १०–५ अङ्कले पराजित गरेको छ ।
आइतबार नै भएको महिलातर्फको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १७–० अङ्कले पराजित गरेको छ भने विभागीय टिम आर्मीले नेपाल पुलीसलाई १२–० ले पराजित गरेको छ । यस्तै महिलातर्फकै तेस्रो खेलमा एपिएफले बाग्मती प्रदेशलाई २९–० अङ्कले पराजित गरेको छ ।

KN-Damauli-Basketballa (1)1665960189.jpg
आइतबार नै मध्याह्नपछि शुरु भएको एपिएफ र बाग्मती प्रदेशबीचको खेलमा एपिएफले २९–० को फराकिलो अन्तरले बाग्मती प्रदेशलाई हराएको छ भने अर्को खेलमा एपिएफले नै कर्णाली प्रदेशलाई ३१–० ले पराजित गरेको छ ।
यस्तै गण्डकी प्रदेश र नेपाल पुलीसबीच भएको खेल ५–५ को बराबरीमा टुङ्गिएपछि खेल ड्र भएको छ । यस्तै प्रदेश नं १ ले सुदुरपश्चिम प्रदेशलाई १२–५ अङ्कले पराजित गर्न सफल भएको छ भने लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई २४–० ले पराजित गरेको छ । आइतबार सम्पन्न भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई ३७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पुलिसलाई तेक्वान्दोमा चार स्वर्ण 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधिमा नेपाल प्रहरी क्लबले अग्रता कायम गरेको छ । 
पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार वटा स्वर्ण पदक जितेको छ । आज साँझसम्म सात वटा इभेन्ट सकिएकामा नेपाली सेनाले दुई र मधेस प्रदेशले एउटा स्वर्ण पदक जितेका छन् । 
राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक जितेको जानकारी दिए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् । 
पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।
पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जीतबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्बु मोक्तान र योवन दाहालले कास्य पदक जिते । 

KK-Beni-KheladiPrizec1665960229.jpg
टिम पुम्से महिलामा सेनाका स्वतिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कास्य पदक हात पारे । 
गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेस प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् । 
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

एपीएफले सेमिफाइनलमा लुम्बिनीसँग खेल्ने

महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सेमिफाइनलमा सोमबार लुम्बिनी प्रदेशसित खेल्ने भएको छ । अपराजित रहँदै एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।  
कास्कीको पोखरा रङ्गशालामा आज भएको खेलमा समूह ए मा रहेको एपीएफले सुदूरपश्चिमलाई पाँच विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै ९२ रन बनायो । त्रियानब्बे रनको विजयी लक्ष्य एपीएफले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि इन्दु बर्माले ४३ बल खेल्दै पाँच चौकासहित ४५ रन बनाइन् । यस्तै ज्योति पाण्डे र रोमा थापाले ११–११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायत, मनिषा चौधरी, डली भट्ट र स्नेहा महराले एक÷एक विकेट लिए ।
यसअघि सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा ऋतु कनौजियाले अविजित ३५ रन बनाइन् । उनले ४६ बल खेल्दै दुई चौकासमेत हिर्काइन् । यस्तै स्नेहा महराले १८ रन बनाइन् । बलिङतर्फ एपीएफकी नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले एक÷एक विकेट लिए । 

1636030789.jpg
यस्तै आजै सम्पन्न खेलमा बागमती प्रदेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आजै भएको खेलमा मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलको यात्रा तय गरेको हो । 
मधेसले दिएको ५५ रनको लक्ष्य बागमतीले १३ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो । बागमतीका लागि सुमन खतिवडाले अविजित १७ र अनिशा मजाकोटीले अविजित १६ रन बनाए । यस्तै अस्मिता खरेलले १३ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती चौधरी र कविता गौतमले एक÷एक विकेट लिए । 
यसअघि पहिला ब्याटिङ गर्दै मधेसले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनायो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि सोनी पाख्रिन, विपिशा शाही र खुसी डङ्गोलले दुई÷दुई विकेट लिए । यसअघि समूह बीबाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी प्रदेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । 

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

पोखरा रङ्गशालामा भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबअर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक÷एक गोल गरे । 

RK-Pokhara-Footballb1665877590.jpg
खेलको १५औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाएकोमा २९औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बनाए । 
पुलिससँगको खेलमा विजयी भएसँगै आर्मी दुई खेलबाट अङ्क बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा पुग्न सफल भयो । आफ्नो पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो ।
सेमिफाइनलमा आर्मीले स्थान बनाउँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपविजेता पुलिस क्लब र लुम्बिनी प्रदेश समूह चरणबाट नै बाहिरिएका छन् ।
प्रतियोगितामा पुरुष फुटबलमा ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपीएफ रहेका छन् ।
त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदुरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते खेल हुने तालिका छ । 

आइटिएफ तेक्वान्दोमा आर्मीको अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा जारी आइटिएफ तेक्वान्दोको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मीले तीन र बागमती प्रदेशले एक स्वर्ण पदक जितेको छ ।
महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले स्वर्ण र गण्डकी प्रदेशकी सुश्मिता थापाले रजत पदक हात पारेकी हुन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिना खड्काले स्वर्ण  र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् ।
पुरुष ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण र गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदक हाँसिल गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।
यस्तै ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा पुरुषतर्फ नेपाल आर्मीका सुमन मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । यसअघि आजै बिहान भएको खेलमा बागमती र आर्मीले एक–एक स्वर्ण पदक जितेका थिए । 

KN-Damauli-Basketballb1665960129.jpg
उक्त खेलमा ‘ब्ल्याक बेल्ट’तर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमाल खड्काले रजत पदक हासिल गरेकी हुन् । ‘रेड बेल्ट’ तर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र शसस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेकी हुन् ।
प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ । स्पाइरिङतर्फ प्रतिस्पर्धा गराउन तयारी भइरहेको आयोजकले जनाएको छ । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल हुनेछन् । 
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । 
पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदक जित्न सफल भए । स्वर्णका लागि प्रारम्भिक निर्णयबाट छनोट भएका पाँच जनाबाट विजेता छनोट गरिएको थियो ।
प्रारम्भिक निर्णयबाट गण्डकीका विवेक हमाल, बागमतीका दिनेश गोसार्इं, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो छनोट भएका थिए । पचपन्न किलो तौल समूहमा उनीहरूसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनिल राईले प्रतिस्पर्धा गरेका थिए ।

DA-Trebeni-Kustib1665877366.jpg
त्यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । आजै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रारम्भिक निर्णय र फाइनल हुने शारीरिक सुगङठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । 
दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समूहको फाइनल हुनुको साथै दोस्रो दिन अन्य विधाका खेल हुनेछन् । उहाँका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरूले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेन्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार