सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष साइक्लिङ ‘डाउनहिल विधा’को दुवै स्वर्ण नेपाली सेनाले जितेको छ । पोखराको रानीवनमा आज आयोजित प्रतिस्पर्धामा महिलातर्फ सेनाका निष्मा श्रेष्ठले दुई मिनेट २३ दशमलव ५८ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जितिन् । साइक्लिङको डाउनहिलमा सेनाकै उषा खनाल दुई मिनेट ३७ दशमलव ४५ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत पदक प्राप्त गर्दा आयोजक गण्डकी प्रदेशका जमुना थापाले दुई मिनेट ४० दशमलव शुन्य नौ सेकेण्डमा पूरा गर्दै कास्यपदक जितिन् । यसैगरी पुरुषतर्फको डाउनहिल प्रतिस्पर्धामा सेनाका राजेश मगरले एक मिनेट ४९ दशमलव १० सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल एपिएफका प्रतिक थापामगरले एक मिनेट ५५ दशमलव ६९ सेकेण्डमा निर्धारित दूरी पार गरी कास्यपदक जिते । नवौँ राष्ट्रिय खेलकुदको प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट शनिबारदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु भए । असोज २३ गतेदेखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि भएका हुन् । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।
पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास,उसु, आर्चरी मैदानमा आर्चरी, सफ्ट टेनिस रङ्गशालाको टेनिस कोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल भएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए । यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा खेलाइएको हो ।
महिला बास्केटबलमा त्रिभुवन आर्मी, बागमती, सुदूरपश्चिम र सशस्त्र विजयी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ ।
फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक÷एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अङ्कले पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो क्वाटरमा १७–५, दोस्रो क्वाटरमा १५३, तेस्रो क्वाटरमा २२–१० र चौथो क्वाटरमा १४–१२ अङ्क प्राप्त गरेको थियो । त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी १५ अङ्क जोडिन् । सुदूरपश्चिम प्रदेशका लागि सञ्जुले व्यक्तिगत १६ अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित ग¥यो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अङ्क जोडिन् ।
शनिबार नै भएको फुलकोर्टतर्फ प्रदेश नं १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको छ । बागमती प्रदेशले प्रदेश नं १ लाई ७५–२६ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अङ्क जोड्नुभयो भने प्रदेश नं १ का शीतल तामाङले आठ अङ्क जोडे । थ्री बाई थ्रीतर्फ बागमती प्रदेशले मधेस प्रदेशलाई १४–२ ले पराजित ग¥यो । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेसका शवनम खातुनले एक अङ्क जोडिन् । थ्री बाई थ्रीतर्फ सुदूरपश्चिम र सशस्त्र प्रहरीको विभागीय टिम विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ७–६ अङ्कले पराजित ग¥यो । उक्त खेलमा सुदूरपश्चिमका अशिका कुँवरले व्यक्तिगत चार अङ्क प्राप्त गरिन् भने प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोडिन् । थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीको विभागीय टिमले गण्डकी प्रदेशलाई ९–७ ले पराजित ग¥यो । सशस्त्रका छिरिङ चोकेले व्यक्तिगत चार अङ्क जोड्नुभएको थियो भने गण्डकीका स्मृति गुरुङले चार अङ्क जोडिन् । प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् । तीन खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्याण्डबलको प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीको यो पहिलो स्वर्ण हो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले ह्याण्डबलमा स्वर्ण जितेको थियो । पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ गोल अन्तरको निकाल्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको सेनाले रजत पदक पायो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र महिलातर्फ सेनाका देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटीका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही रु १०÷१० हजार प्रदान गरे । प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफले कास्यपदक जितेको छ । एपिएफले तृतीय स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । यसैगरी महिला ह्याण्डबलमा विभागीय सेनाले स्वर्ण पदक जितेको छ । सेनाले अर्को विभागीय टोली एपिएफलाई १७–१६ गोलले हराउँदै स्वर्ण जित्न सफल भयो । प्रतियोगितामा एपिएफले रजतपदक जित्दा गण्डकी प्रदेशले कास्यपदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकीका आठ जिल्लामा ३६ खेल सञ्चालन भइरहेका छन् ।
पौडीमा नासिर र डुवानको नयाँ कीर्तिमानी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन् । काठमाडाँैमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा उनले १६ मिनेट ५० दशमलव २१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दै नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पारे । सोही स्पर्धामा एनआरएनका आशिष सापकोटा दोस्रो भए । उनी १६ मिनट ५७ दशमलव ९५ को समयमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे । तेस्रो स्थान पुलिसका सुनिलकुमार थापा मगरले हासिल गरे । उनले कास्यपदक प्राप्त गरे । यस्तै नेपाली सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहको नाममा रहेको दुई मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै दुई मिनेट ३१ दशमलव ४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरे । यो उनले हिट चरणमा कायम गरेको समय हो ।
आइटिएफमा नेपाली सेनाका परियारलाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाका धनसिंह परियारले स्वर्णपदक हात पारेका छन् ।
प्रतियोगिताको पहिलो दिन नीलो बेल्टतर्फ भएको नौ बाउटमा लुम्बिनी प्रदेशका सफल परियारले स्वर्ण पदक जितेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । उनका अनुसार एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा बाँकी खेल आइतबारदेखि सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
टेनिसमा आर्मीका दुवै टोली फाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ । नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए । पोखरा रङ्गशालाको टेनिस कोर्टमा शनिबार भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुष्मान घलेबीचको खेलमा ६–१, ६–० सेटमा शाही विजयी भए । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल र श्रीयोगको जोडीमाथि ४–१, ४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भएको हो । यसैगरी पुरुष एकलको अर्को खेलमा पुलिसका आर्यन गिरीले आर्मीका एकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३, ६–१ को सेटमा खनाल विजयी भए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२, ७–६ को सेटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलाषा विष्ट विजयी भए । उनीहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरे ।
महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे । महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भइन् । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भयो । यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजवीर प्रधान एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वार्टरफाइनलमा प्रवेश गरे । पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनिता र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ । मिक्स डबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेको नेपाल टेनिस सङ्घका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए ।